काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली केहीबेर अघि काठमाडौं अवतरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे बिदाइ गरेका थिए ।
हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए ।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर समेत भएको थियो ।
प्रधानमन्त्री चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए । उनका साथमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, उनका सल्लाहकारहरू विष्णु रिमाल र डा युवराज खतिवडा लगायत सहभागी थिए ।