काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार संप्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गरेकी छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । उनले राज्य सञ्चालनको लागि पत्रकारिताको महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै कसैले पनि राजनीतिक प्रभावमा परेर समाचार लेख्न नहुने बताइन् ।
उनले संसदको गरिमा बढाउन संसदीय पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको उनको भनाइ छ ।
उनले भनिन्, ‘तपाईहरुले कस्तो सूचना दिँदा चाँही जनतालाई फरक पर्दैन त्यो कुरा याद गर्नुपर्दछ । हामीले यो राज्यलाई बचाउने र नागरिकलाई नकारात्मक प्रभाव नपर्नेगरि समाचारहरु संप्रेषण गर्नुपर्ने हुन्छ । राज्य संचालनका लागि पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको छ ।
अहिले त डिजिटल प्रविधि पाँचौँ अंग पनि आईसक्यो । पत्रकाहरुले राजनीतिक प्रभावमा परेर काइते तरिकाले लेखेको पनि देखिन्छ । त्यसैले यसरी नलेख्न आग्रह गर्दछौं । संसदको गरिमा बढाउनका लागि संसदीय पत्रकारिताको महत्वपूर्ण भुमिका रहन्छ ।’
उनले वर्तमान व्यवस्था बचाउँदै मुलुकमा समृद्धि ल्याउनका लागि सबैले एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताइन् ।