२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

बुढापाकाले धानेको घुम्ती गोठ

शनिवार , आषाढ १३, २०८३

म्याग्दी /  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालले ६५ वर्षसम्म घुम्ती गोठमा भैँसीपालन गरे। तर स्वास्थ्यमा समस्या देखिएपछि १५ वर्षको उमेरदेखि सुरु गरेको यो परम्परागत पेशा अब छाड्ने तयारीमा छन्।

‘मेरो बाल्यकालमा गाईभैँसीको गोठ नभएको घरै हुँदैनथ्यो,’ नरबहादुरले भने, ‘अहिले भएका दुई–चार वटा गोठ पनि हामी वृद्धहरूले छाडेपछि हराउने अवस्था छ । ’

पहिले हरेकजसो घरमा घुम्ती गोठ हुने भएकाले बुकी क्षेत्रमा चहलपहल हुने गथ्र्यो। तर पछिल्लो समय बुकीमा गोठ लैजाने किसानको संख्या निरन्तर घट्दै गएको छ। यससँगै बुकीका खर्क र पाटन सुनसान बन्दै गएका छन्।

गोठालाले गोठ राख्ने स्थानलाई खर्क र लेकका चरन क्षेत्रलाई बुकी पाटन भनिन्छ। खर्कमा ढुङ्गाको पर्खाल बनाएर काठ, निगाला, त्रिपाल वा पालको सहायताले अस्थायी गोठ निर्माण गरिन्छ।

1777435094_bhaisi.jpg

यस क्षेत्रमा पालिने लिमे र पारकोटे जातका भैँसीको आनुवंशिक स्रोत पनि घुम्ती गोठको परम्परा हराउँदै जाँदा संकटमा परेको छ।

धवलागिरि गाउँपालिका–५ बगरका कृषक किर्तबहादुर घर्तीमगरका अनुसार जेठमा बेंसीबाट उकालो लागेका गोठ साउनमा हिमालको फेदीस्थित बुकी पाटनमा पुग्छन् र असोजमा फेरि बेंसी झारिन्छ।

‘बेंसीका फाँटमा बर्खेबाली लगाएपछि हप्ता–दश दिनको अन्तरमा घुम्ती गोठ सार्दै हिमालतिर जान्छौँ,’ उनले भने, ‘करिब पाँच हजार मिटर उचाइका बुकी पाटनमा बर्खाभरि पोषिलो घाँस चराएर चिसो बढ्न थालेपछि गोठ बेंसी झार्ने चलन छ । ’

धवलागिरि गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर–३ का अध्यक्ष देवेन्द्र रोकाका अनुसार पशुचौपायाको संख्या घट्दै जाँदा स्थानीयले आलोपालो गरेर गोठमा बस्ने गरेका छन्।

‘दुई दशकअघिसम्म गाउँका सबैजसो परिवार घुम्ती गोठ राखेर गाईभैँसी तथा भेडाबाख्रा पालन गर्थे,’ उनले भने, “परम्परागत पशुपालन व्यावसायिक बन्न नसक्दा युवाहरू वैदेशिक रोजगारीतर्फ लागेका छन्। अहिले घुम्ती गोठको परम्परा बूढापाकाले मात्र धानेका छन्।’

उनका अनुसार अहिले गोठमा युवायुवती भेटिन छाडेका छन्। अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले घुम्ती गोठमा वृद्धवृद्धामात्र देखिन्छन्।

मुनाका किसान हर्कबहादुर रोकाले नयाँ पुस्ता खेतीपाती, घाँसदाउरा र गोठधन्दाजस्ता श्रमसाध्य काममा रुचि नदेखाएको बताए।

उनका अनुसार घुम्ती गोठमा आधारित पशुपालन अझै पूर्ण रूपमा व्यावसायिक बन्न सकेको छैन। खेतीका लागि आवश्यक मल उत्पादन र पुर्खाले अपनाएको परम्परा जोगाउनकै लागि गोठ राख्ने चलन कायम रहेको छ।

‘गोठमा गाईभैँसी पाल्नु दुःखको धन हो,’ उनले भने, ‘खेती गर्न मलका लागि पनि पशुपालन गर्नैपर्छ। पशुचौपाया बिक्रीबाट हुने आम्दानी धेरै हुँदैन। बहर गोरु बेच्न पनि तीन–चार वर्ष पाल्नुपर्छ ।’

उनका अनुसार भैँसी र बाख्रापालन गर्ने किसानले भने गाईपालकको तुलनामा केही बढी नगद आम्दानी गर्ने गरेका छन्।

विसं २०७४ को सर्वेक्षणअनुसार धवलागिरि गाउँपालिकामा गाईगोरु ६ हजार ७५६, राँगाभैँसी २ हजार ३८३, बाख्रा ३ हजार ६६४, भेडा २ हजार २८ र घोडा २२९ थिए।

हाल गाउँपालिकामा गाई ४ हजार ४११, भैँसी २ हजार ८४७, बाख्रा ५ हजार ९८६, भेडा २ हजार १९५, बङ्गुर ११९, कुखुरा १६ हजार २२६, खरायो ६७० तथा घोडा–खच्चर २६६ रहेको पशु सेवा शाखा प्रमुख चन्द्रकला दाहालले जानकारी दिइन्।

नयाँ पुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदा गाउँमा पशुपालन गर्ने जनशक्ति घटेको छ। जिविकोपार्जन, स्वरोजगार र आयआर्जनको सम्भावना हुँदाहुँदै पनि श्रमसाध्य भएकाले युवा पुस्ताको आकर्षण कम भएको छ। यसको प्रत्यक्ष असर घुम्ती गोठको परम्परा र स्थानीय जातका गाईभैँसी संरक्षणमा परेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार