काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा आफ्ना कोरियाली समकक्षी इन्क्यो च्योङको निमन्त्रणामा उनी कोरिया भ्रमणमा थिए । भ्रमणका क्रममा नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन ‘फ्रेमवर्क’ (टिआइपिएफ) सम्झौतामा हस्ताक्षर भएको थियो ।
मन्त्री भण्डारीले त्यहाँ रहँदा कोरियाका लगानीकर्ताहरुसँग छलफल गर्नाका साथै नेपालमा लगानी गर्न आग्रह गरेका थिए । साथै उहाँले कोरियामा नेपाली वस्तुको प्रवद्र्धनका लागि त्यहाँका चेम्बर पदाधिकारीसँग पनि विचारविमर्श गरेका थिए ।
यसैबीच, नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न बिहीबार नै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र कोरिया इम्पोटर्स एसोसिएशनका अध्यक्ष बुवाङ कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।