काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी गरे । उनले अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गरे । उनले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न कांग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस–अपजस लिनुपर्ने बताए ।
उनले राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि गरेका संघर्षहरु जनतामाझ पुर्याउनुपर्ने बताए । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम गर्न बाँकी रहेको बताए ।
उनले भने, ‘हामी आगामी चुनाव एक्लै फेस गर्दछौँ । एक्लै जान्छौँ चुनावमा । एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो । त्यसको तयारीको प्रारम्भ हो यो अहिलेको अभियान । काँग्रेस पार्टीका साथीहरुले बढो गर्वका लागि राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि हामीले गरेको संघर्ष, आन्दोलन, क्रान्ति, जेजे छ, जेजे जान्नुहुन्छ, हामीले भन्दै जानुपर्छ । भन्न छोड्नु हुन्न ।
किनभनले देशको राजनीतिक फाउण्डेशन हाम्रै नेतृत्वमा बनेको छ । देशको विकासमा हामीले जे जति काम गरेका छौँ । गरेका राम्रा कुराहरु भन्दै जानुपर्छ, भन्न छोड्नुहुन्न । तर यो पनि होइन की पर्याप्त गरिसक्यौँ भन्ने होइन । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम बाँकी छ ।
कानून बनाउन, योजना निर्माण गर्न धेरै काम बाँकी छ । शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम बाँकी छ । तर जे जति गरेका छौँ, हामीले नै गरेका छौँ । नेपाली कांग्रेस पार्टीले गर्न सकेन भने कुनै पार्टीले गर्ने लक्षण देखाएको छैन ।’
नेता सिटौलाले नेपाली कांग्रेस पार्टीले गर्न नसके अरु कुनैपनि राजनीतिक दलले जनताको हितमा काम गर्न नसक्ने बताए ।