काठमाडौं । डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्व बजारमा डलरको मूल्य बढेर उच्च भएको छ ।
डलर महंगीको असर नेपाल र भारतलगायत विश्वभरी परेको छ । यसको बढी असर उदीयमान अर्थतन्त्रमा परेको छ । अमेरिकी डलर महँगिएर पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार १ डलर किन्न अब १३७.१६ रुपैयाँ चाहिने भएको छ । डलरको यो भाउ अहिलेसम्मकै उच्च हो । ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनसाथ डलर महंगिएर १३५.१६ रुपैयाँ पुगेको थियो । गत कात्तिक २१ गतेदेखि डलरको ग्राफ निरन्तर उकालो लागेको छ । डेढ महिनाको बीचमा डलरसँग रुपैयाँ २ रुपैयाँ कमजोर बनेको छ ।
भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो । बिहीबार १ डलरबराबर ८५.३९ भारु पुगेको छ । डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो ।
भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ ।
भारतमा डलर सञ्चिती बढेर ७ खर्ब डलर कटेको थियो ।
अहिले डलर सञ्चिती निरन्तर घटेर ६ खर्ब ४२ अर्ब डलरमा झरेको छ । यसबीचमा ५८ अर्ब डलर सञ्चिती घटेको छ । भारतजस्ता उदीयमान देशबाट डलरमा भएको लगानी फिर्ता गइरहेको छ । डलर सञ्चिति घट्दै गएपछि स्थानीय मुद्रा कमजोर हुन बल पुगेको छ । नेपाल र भारतमा मात्र होइन, विश्वबजारमा डलर बलियो हुँदा अन्य स्थानीय मुद्रा कमजोर बन्दै गएका छन् ।
रुस–युक्रेन युद्ध र पछिल्लो समय इजरेलले हमास, हजबुल्लाह इरानमा गरेको आक्रमणका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएकोमा ट्रम्पको ह्वाइट हाउसमा भएको पुनरगमनले डलर झनै बलियो भएको छ ।
विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ । अहिले डलरका कारण विश्व बजारमा सुन, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ । क्रिप्टो करेन्सी बिटक्वाइनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने छ । नेपालमा विदेशी मुद्रा सञ्चितीले नयाँ रेकर्ड राखेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको छ । १५ महिनाको वस्तु तथा सेवा आयात धान्ने सञ्चिती रहेको छ ।
यस्तै पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउने छन् ।
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । यस्तै विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि हुन्छ ।
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ ।
यसैगरी विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने छ ।
आज युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।