काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बोल्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचारजन्य कार्यमा शुन्य सहनशीलता र सुशासनको सुनिश्चितता सरकारको दायित्व र कर्तव्य भएको उल्लेख गर्दै सरकार प्रतिवद्ध भएर लागेको बताए ।
उनले संविधानको कार्यान्वयनको लागि आवश्यक पर्ने विधेयकहरु छिट्टै सदनमा ल्याइने समेत बताए । उनले मुलुकमा सुशासन कायम गर्न र वर्तमान व्यवस्थाको थप सुदृढिकरणका लागि आवश्यक पर्ने कानून निर्माणमा सरकार प्रतिवद्ध भएर लागेको समेत बताए ।
उनले भने, ‘अब सरकारले पनि चाँडोभन्दा चाँडो संविधानलाई कार्यान्वयन गर्ने र संविधानको भावनाअनुसार चल्नको लागि आवश्यक पर्ने विधेयकहरु सुशासन कायम गर्नको लागि, व्यवस्थाको थप सुदृढिकरण गर्नको लागि आवश्यक पर्ने विधेयकहरु सदनमा ल्याउँछ । म यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
सम्मानित सदन र समितिहरुले पनि चाँडो भन्दा चाँडो विधायनको कार्यलाई टुंगोमा पुर्याउने अभ्यास हामीले गर्नुपर्छ । किनभने अलि समय बढी लागिरहेको अवस्था छ । अर्को कुरा, भ्रष्टाचारको नियन्त्रण र सुशासनको सुनिश्चितता सरकारको सरकारको पहिलो कर्तव्य हो, दायित्व हो । अहिलेको यो सरकारको पनि यो प्राथमिकता हो ।
र हामी भ्रष्टाचारको नियन्त्रणका निमित्त भ्रष्टाचारका विषयलाई शुन्य सहनशीलताको रुपमा लिएका छौं । सुशासनको सुनिश्चितता हामी गर्न चाहन्छौं । त्यसको लागि यो विधेयक महत्वपूर्ण कडीका रुपमा रहनेछ । भ्रष्टाचारको नियन्त्रण, भ्रष्टाचारजन्य कार्यमा शुन्य सहनशीलता र सुशासनको सुनिश्चितता हाम्रो प्राथमिकता हो, दायित्व हा, कर्तव्य हो ।’
उनले सरकार सुशासन र आर्थिक, सामाजिक सुधारका काममा सक्रिय भएर लागेको उल्लेख गर्दै काम गर्ने वातावरण बनाउन सबैसँग आग्रह गरे ।