काठमाडौँ । गृह मन्त्रालयले गरेको देशभरका प्रशासन कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो भएको छ । उसले १८ अङ्क प्राप्त गरेको छ ।
मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका उपसचिव विश्वामित्र कुइँकेलले कुल १८.२५ पूर्णङ्कमा मनाङले १८ अङ्क प्राप्त गरी प्रथम भएको जानकारी दिए ।
यसअघि पनि मनाङ पहिलो भएको उनले बताए । मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो तैमासिक नतिजाअनुसार १७.८७ अङ्क प्राप्त गरी म्याग्दी जिल्ला दोस्रो भएको छ ।
समान १७.६२ अङ्कका साथ भक्तपुर र रसुवा जिल्ला तेस्रो हुन सफल भएको छ । त्यसपछि क्रमशः मकवानपुर र स्याङ्जा पाँचौँ, नुवाकोट, पूर्वीरुकुम र रुपन्देही सातौँ स्थानमा रहेको छ ।
कास्की, झापा, डोटी र नवलपरासीपूर्व १०औँ स्थानमा रहेको छ । काठमाडौँ २.५ अङ्क प्राप्त गरी ७६औँ र धनुषा १.६८ अङ्क प्राप्त गरी ७७औँ स्थानमा रहेको छ ।
उपसचिव कुइँकेलका अनुसार गृह मन्त्रालयले नागरिकको सेवा प्रवाह, प्रशासन कार्यालयको कार्यसम्पादन, उत्तरादायित्वलगायत सूचक र मापदण्डका आधारमा मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरिएको हो ।
यस्तै मुद्दा फछर्योटको अवस्था, विपद् व्यावस्थापनमा गरेको काम, विकास निर्माणका कामहरूका सन्दर्भमा गरिएको कामलगायत विभिन्न मापदण्डमा आधारित रहेर मूल्याङ्कन हुने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस