विराटनगर । पूर्वी नेपालको शिक्षा तथा प्रविधि क्षेत्रमा नयाँ फड्को मार्ने उद्देश्यसहित विराटनगर इन्टरनेशनल कलेज (बिआइसी) ले करिब १ अर्ब रुपैयाँ बराबरको लगानीमा अत्याधुनिक क्याम्पस निर्माण तथा विश्वस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
स्थापनाको १० औँ वर्ष पूरा गरेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कलेजले नयाँ भौतिक पूर्वाधारसँगै बेलायतको प्रतिष्ठित युनिभर्सिटी अफ वुल्भरह्याम्पटन सँगको सहकार्यमा दुई नयाँ अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालनमा ल्याउने जानकारी दिएको हो ।
कलेजका अध्यक्ष सुलभ बुढाथोकीका अनुसार निर्माणाधीन नयाँ क्याम्पस एक वर्षभित्र सञ्चालनमा आउनेछ । सोही क्याम्पसबाट बीएससी (हन्स) साइबर सुरक्षा र इन्टरनेशनल मास्टर इन बिजनेस एडमिनिस्ट्रेशन (आईएमबीए) कार्यक्रम सञ्चालन गरिनेछ ।
अध्यक्ष बुढाथोकीले नेपाली विद्यार्थीले गुणस्तरीय उच्च शिक्षाका लागि विदेशमा ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब त्यही स्तरको अन्तर्राष्ट्रिय शिक्षा नेपालमै, अझ विशेष गरी विराटनगरमै, सुलभ शुल्कमा उपलब्ध गराउने लक्ष्य रहेको बताए ।
“नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि ठूलो रकम खर्चेर विदेश जानुपर्ने अवस्था छ,” उनले भने, “हामीले त्यही गुणस्तरको अन्तर्राष्ट्रिय शिक्षा नेपालमै कम लागतमा उपलब्ध गराउने प्रयास गरेका छौँ ।”
निर्माणाधीन नयाँ क्याम्पसमा आधुनिक कक्षाकोठा, उन्नत प्रविधि प्रयोगशाला, साइबर सुरक्षा ल्याब, नवप्रवर्तन (इनोभेसन) केन्द्र तथा उद्योगसँग प्रत्यक्ष जोडिने सिकाइ पूर्वाधार निर्माण गरिने कलेजले जनाएको छ ।

यो परियोजना पूर्वी नेपालमा शिक्षा क्षेत्रमा गरिएको सबैभन्दा ठूलो निजी लगानीमध्ये एक हुने विश्वास गरिएको छ । कलेजका अनुसार नयाँ पूर्वाधारले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै उद्योग–केन्द्रित व्यावहारिक अनुभव प्रदान गर्नेछ, जसले उनीहरूको रोजगारी र उद्यमशीलता क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
सन् २०१३ मा स्थापना भएको बिआइसीले हाल बीएससी (हन्स) कम्प्युटर साइन्स र इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । शैक्षिक कार्यक्रमसँगै सफ्टवेयर विकास, डिजिटल उत्पादन तथा विश्वव्यापी परियोजनामा नेपाली प्रतिभालाई जोड्ने रणनीतिमा पनि कलेजले काम गरिरहेको जनाएको छ ।
कलेज प्रशासनका अनुसार नयाँ शैक्षिक कार्यक्रम र अत्याधुनिक क्याम्पस सञ्चालनमा आएपछि पूर्वी नेपालमा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा टेवा पुग्नेछ । साथै विराटनगरलाई मुलुककै प्रमुख आईटी तथा उद्यमशीलता केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कलेजले यो परियोजनाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिसँगै स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना तथा प्रविधिमैत्री उद्यम विकासमा समेत दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छ ।
प्रतिक्रिया दिनुहोस