काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अध्यक्ष दीपकराज जोशीले सिमानाबाट भित्रिने पर्यटकहरू प्रहरी जाँचको झन्झटले निरुत्साहित भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले प्रहरी चेकिङको आतंकले पर्यटकहरू निरुत्साहित भएको भन्दै सहजिकरणका लागि सकारसँग अनुरोध गरेका हुन् ।
अध्यक्ष जोशीले पर्यटन प्रवर्द्धनका लागि नेपालले भारतको अयोध्या लगायतका क्षेत्रमा सूचना केन्द्र सञ्चालन गर्न जरुरी रहेको समेत बताए ।
उनले पर्यटन प्रवर्द्धनको लागि नेपालले पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको समेत बताए । उनले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास र अन्य मुलुकहरूसँग सहयोग लिनुपर्ने बताए । उनले गुणस्तरीय लगानी नभित्रिएसम्म गुणस्तरीय पर्यटक नभित्रिने जिकिर गरे ।
उनले भने, ‘अर्काको गन्तव्य जानको लागि पर्यटकहरूलाई सहज भएन भने जहाँ सहज जाने प्रचलन छ । यसका लागि हामीले तत्काल केही गर्नसक्यौँ भने फाइदा हामीले लिनसक्छौँ । भारतको अयोध्या सबैभन्दा धेरै पर्यटन घुम्ने ठाउँ बनेछ । त्यहाँ नेपालको इन्फरमेसन सेन्टर राख्यौँ भने त्यसले हाम्रो जनकपुर र अन्य क्षेत्रमा पनि पर्यटन प्रवर्द्धन हुनसक्ने देखिन्छ ।’
अध्यक्ष जोशीले पर्यटन प्रवर्द्धनको लागि नीतिगत सुधारसँगै संरचनागत सुधार आवश्यक रहेको बताए ।