काठमाडौं । व्यवसाय, नाफा, पुँजी पर्याप्तता र बजार हिस्सालगायत प्रमुख वित्तीय सूचकमा सुधार गर्दै गरिमा विकास बैंक लिमिटेड विकास बैंक क्षेत्रको अब्बल संस्थाका रूपमा स्थापित हुँदै गएको छ।
बैंकको पछिल्लो अवस्थालाई मूल्याङ्कन गर्दै इक्रा नेपालले बैंकको इश्युअर रेटिङ 'इक्राएनपी आइआर बीबीबी माइनस' लाई पुनः पुष्टि गरेको छ ।
उक्त रेटिङले बैंक वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका हिसाबले मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ । यद्दपि, सम्पत्ति गुणस्तरमा देखिएको दबाब, खराब कर्जाको उच्च अनुपात तथा तरलतासम्बन्धी जोखिमका कारण बैंकलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ अर्थात् नकारात्मक प्रभावसहितको निगरानी सूचीमा पनि राखिएको हो ।
सन् २००७ मा स्थापना भएको बैंकले निलगिरी विकास बैंक र शुभेच्छा विकास बैंकसँग मर्जर तथा साहारा विकास बैंकको प्राप्तिपछि राष्ट्रिय स्तरको विकास बैंकका रूपमा विस्तार गरेको हो। हाल बैंकले देशभर १२६ शाखामार्फत सेवा दिँदै विकास बैंक क्षेत्रको निक्षेप र कर्जा दुवैमा करिब १५ प्रतिशत बजार हिस्सा कायम गरेको छ।
गरिमा विकास बैंकलाई प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले हाँकिरहेका छन् । २०८१ वैशाख १ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका उपाध्याय बैंक स्थापनाकालदेखि नै आवद्ध छन् ।
शाखा सञ्जाल र सम्पत्ति आकारका आधारमा गरिमा विकास बैंक ‘ख’ वर्गका ठूला बैंकमध्ये एक मानिन्छ। उपाध्यायको नेतृत्वमा बैंकले आफ्नो व्यवसायिक आकार थप विस्तार गरेको छ । इक्रा नेपालका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको कर्जा लगानी ८२ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति १ खर्ब ८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
पूँजी पर्याप्तताका हिसाबले पनि बैंक नियामकीय सीमाभन्दा माथि रहेको छ । तेस्रो त्रैमासमा बैंकको क्यापिटल एडिक्वेसी रेसियो १३ प्रतिशत तथा टियर–१ क्यापिटल १०.९३ प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा माथि हो। जोखिमयुक्त सम्पत्तिको नियन्त्रणमा रहेको वृद्धि र न्यून नगद लाभांश वितरणले बैंकलाई पर्याप्त पूँजी आधार कायम राख्न सहयोग गरेको इक्रा नेपालको भनाइ छ ।
गरिमा विकास बैंकले पछिल्ला वर्षहरुमा निरन्तर रुपमा सेयरधनीलाई लाभांश वितरण गर्दै आएको छ। आर्थिक वर्ष २०७७/७८ मा बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। त्यसपछि आर्थिक वर्ष २०७८/७९ मा १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश, आर्थिक वर्ष २०७९/८० मा ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश तथा आर्थिक वर्ष २०८०/८१ मा ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि बैंकले ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यसले बैंकले नाफासँगै सेयरधनीको प्रतिफललाई समेत निरन्तर प्राथमिकतामा राख्दै आएको देखाउँछ । कम्पनी पछिल्ला वर्षहरुमा पनि निकै राम्रो प्रतिफल दिएको छ ।
यता, बैंकको निक्षेप संरचना पनि तुलनात्मक रुपमा बलियो मानिएको छ । चालु तथा बचत खाताको हिस्सा करिब ६२ प्रतिशत रहेको छ । शीर्ष २० कर्जाग्राहीमा कुल कर्जाको ५.४३ प्रतिशत र शीर्ष २० निक्षेपकर्तामा कुल निक्षेपको ८.२ प्रतिशत मात्र केन्द्रित रहेकाले कर्जा तथा निक्षेपको जोखिम विविधीकृत रहेको मूल्याङ्कन गरिएको छ ।
नाफातर्फ पनि बैंकले सुधार देखाएको छ । चालु आर्थिक वर्षको नौ महिनामा बैंकको खुद नाफा १ अर्ब ४ करोड ८० लाख रुपैयाँ पुगेको छ। सो अवधिमा सम्पत्तिमा प्रतिफल १.३१ प्रतिशत तथा खुद सम्पत्तिमा प्रतिफल १४.४४ प्रतिशत रहेको छ। खुद ब्याज आम्दानी २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
यद्दपि बैंकका चुनौतीहरु अझै कायम छन् । बैंकको खराब कर्जा ४.७७ प्रतिशत रहेको छ । त्यस्तै, शुन्य प्लस दिनभन्दा बढी बक्यौता रहेको कर्जा करिब २६ प्रतिशत पुगेको छ । वाचलिस्टमा रहेका खाताको हिस्सा पनि करिब १० प्रतिशत रहेको छ। आर्थिक गतिविधिमा आएको सुस्तता र ऋणीहरुको भुक्तानी क्षमतामा परेको दबाबले आगामी दिनमा कर्जा असुली चुनौतीपूर्ण बन्न सक्ने इक्रा नेपालको निष्कर्ष छ।
बैंकको कर्जा–निक्षेप अनुपात ८७.१५ प्रतिशत पुगेको छ, जुन ९० प्रतिशतको नियामकीय सीमाको नजिक छ । तरल सम्पत्ति अनुपात २३ प्रतिशत रहेपनि ब्याजदरमा अप्रत्याशित परिवर्तन आएमा तरलता व्यवस्थापनमा दबाब पर्न सक्ने जोखिम औंल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस