logo

२०८१ पुष २४ बुधबार

logo
  • बुधबार, २४ पुष २०८१
  • मुगु कर्णाली र किमाथान्का जलविद्युत बनाउन आधादर्जन कम्पनीको प्रस्ताव, भियुसिएलले मूल्याँकन गर्दै

    मुगु कर्णाली र किमाथान्का जलविद्युत बनाउन आधादर्जन कम्पनीको प्रस्ताव, भियुसिएलले मूल्याँकन गर्दै

    329
    Shares
    मुगु कर्णाली र किमाथान्का जलविद्युत बनाउन आधादर्जन कम्पनीको प्रस्ताव, भियुसिएलले मूल्याँकन गर्दै

    काठमाडौं । मुगु कर्णाली जलासय र किमाथान्का अर्धजलासय आयोजना बनाउन आधा दर्जन कम्पनीहरुको प्रस्ताव परेका छन् । मंगलबारसम्म १९ सय २ मेगावाटको मुगु कर्णालीमा सिजी इनर्गी प्रालिको मात्र प्रस्ताव परेको छ ।

    यस्तै ४ सय ५४ मेगावाटको किमाथान्कामा पाँच कम्पनीको प्रस्ताव परेको हो । किमाथान्कामा नोबेल ग्रुप अफ इनर्जी प्रालि, बेला नेपाल इन्डष्ट्रिज प्रालि, भिजन इनर्जी एन्ड पावर लिमिटेड, एनजे हाइड्रोपावर प्रालि र अनक हाइड्रोपावर प्रालिको प्रस्ताव परेको विद्युत उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) ले जनाएको छ ।

    परेको प्रस्तावको मूल्याँकन अघि बढ्ने भियुसिएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बखतबहादुर शाहीले सुनौलो नेपाललाई बताए । प्राविधिक मूल्याँकनमा कम्पनीहरुले न्यूनतम् ६० अंक ल्याउनुपर्ने व्यवस्था रहेको उनले सुनाए । मुगु कर्णालीमा सिजीको एउटा मात्र प्रस्ताव परेकाले त्यसको पनि प्राविधिक मूल्याँकनपछि मात्र छलफल गरेर निर्णय लिने उनले सुनाए । मुगु कर्णालीमा एउटा मात्र प्रस्ताव परेकाले अहिले नै यसै भन्न सकिने अवस्था नरहेको उनको भनाई छ ।

    दुई जलविद्युत आयोजनाको जडित क्षमता २३ सय ५६ मेगावाट छ । भियुसिएलले दुई जलविद्युत अयोजना बोलकबोलबाट नेपाली निजी क्षेत्रलाई दिन लागेको हो ।

    दुई आयोजना बनाउन ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको क्षमता र लागत विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएपछि मात्र यकिन हुनेछ । नेपालीले नसकेको खण्डमा मात्र विदेशी लगानीकर्ता ल्याउने योजना भियुसिएलको छ ।

    दुई आयोजना लगानी साझेदारीमा निजी क्षेत्रमार्फत बनाउन विद्युत उत्पादन कम्पनीले वित्तीय लगानी प्रस्ताव आव्हान गरेको थियो । कम्पनीका अनुसार दुई आयोजना स्वदेशी लगानीकर्तामार्फत सार्वजनिक निजी साझेदारीढाँचामा लगानी जुटाउने प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ ।

    स्वदेशी क्षमता अभिवृद्धिका साथै स्थानीय लगानीलाई प्रोत्साहित गर्न यि दुई ठूला जलासय आयोजना अघि बढाएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार स्वपुँजी (इक्विटी) को ५१ प्रतिशत लगानी गर्न साझेदारी चाहिने भएको छ ।

    आयोजना बनाउन स्वदेशी लगानीकर्ता, नेपाली नागरिक मात्र प्रवद्र्धक रहेको कम्पनी र संगठित संस्थालाई १५ दिनभित्र आशयपत्र पेश गर्न विद्युत उत्पादन कम्पनीले समय दिएको छ । लगानी पेश गर्ने समय पुस ९ गते दिउसो १२ बजेसम्मलाई तोकिएकोमा प्रस्ताव नपरेपछि फेरि समय १५ दिन थपिएको हो ।

    अन्तिम दिन २३ गते मंगलबार कम्पनीले प्रस्ताव खोलेको हो । आयोजनाको स्वपुँजी र ऋण लगानी अनुपात २५ः७५ प्रतिशत हुनुपर्ने कम्पनीले जनाएको छ । प्रस्तावकले ५१ प्रतिशत सेयर लगानीको प्रस्ताव गर्नुपर्ने भएको छ ।

    किमाथांका जलविद्युतका लागि न्यूनतम् कबोल रकम ९० करोड ८१ लाख ९ हजार ३ सय २ रुपैयाँ तोकिएको छ । यस्तै मुगु कर्णालीलाई ४८ करोड ७२ लाख ४३ हजार ४ सय २३ रुपैयाँ तोकिएको उत्पादन कम्पनीले जनाएको छ । प्राविधिक प्रस्तावमा न्यूनतम् ६० प्रतिशत प्राप्त गर्ने प्रस्तावको मात्र प्रस्ताव खोलिने कम्पनीले स्पष्ट पारेको छ ।

    मुगु कर्णाली नेपालमा हाल अध्ययन भइरहेकामध्ये सबैभन्दा ठूलो जलाशययुक्त जलविद्युत आयोजना हो । आयोजनाले वार्षिक ५ अर्ब ८८ करोड ३१ लाख युनिट बिजुली उत्पादन गर्ने संभाव्यता अध्ययनले देखाएको छ । कर्णाली नदीमा पहिचान भएको यो आयोजना सबैभन्दा माथि निर्माण हुनेछ ।

    आयोजनाको बाँध करिब २८५ मिटर उचाइको हुने अनुमान छ । यो आयोजनाले कर्णालीका कालिकोट, मुगु, हुम्ला र जुम्ला गरी चार जिल्ला र सुदूरपश्चिमको बाजुराका विभिन्न क्षेत्रहरु प्रभावित हुनेछ ।

    आयोजनाबाट प्रभावित हुने जिल्लाअनुसार गाउँपालिकामा हुम्ला जिल्लाको सर्केगाड, अदानचुली र ताँजाकोट गाउँपालिका रहेका छन् भने बाजुराका हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिका रहेका छन् । त्यसैगरी मुगुका खत्याड र सोरु गाउँपालिका, कालीकोटको पताला गाउँपालिका र जुम्लाका कनका सुन्दरी र सिञ्जा गाउँपालिका रहेका छन । यो आयोजना नेपाल चीन सीमा नजिक पर्छ ।

    किमाथान्का अरुण अर्धजलाशययुक्त आयोजना संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका नेपाल–चीन सीमा नजिक पर्छ । आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड रहेको छ ।

    बिजुलीको अधिकतम माग हुने समयमा आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । भोटखोलाको वडा नम्बर २ स्थित छुम्सुर गाउँनजिक नदीको सतहदेखि ७० मिटर अग्लो बाँध बनाउने प्रस्ताव गरिएको छ ।

    बाँध बनेपछि सो क्षेत्रमा १०३ लाख घनमिटरको जलाशय बन्ने छ । भोटखोला गाउँपालिका वडा नम्बर २ स्थित लिङगम गाउँको ५०० मिटर तल पुङमुछिमा विद्युतगृह बन्ने भएको छ ।

    आयोजनामा ८ मिटर व्यास भएको ५१ सय ९८ मिटर लामो हेडरेस सुरुङ बनाइने भएको छ । आयोजनामा पानीको वहाव १४३ घनमिटर प्रतिसेकेन्ड ३७९ मिटर अग्लो हेडबाट खसालेर वार्षिक २ अर्ब ६५ करोड ५१ लाख २० हजार युनिट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको छ ।

    सुक्खायाममा आयोजनाबाट १ अर्ब ५ करोड ११ लाख ३० हजार युनिट बिजुली उत्पादन गर्ने अनुमान छ । यस्तै बर्खामा १ अर्ब ८७ करोड ३५ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

    आयोजनाको विद्युतगृह भूमिगत हुने भएको छ । यस्तै सुरुङबाट ल्याइको पानीलाई ४ वटा टर्वाइनमा खसाली विद्युत उत्पादन गरिने भएको छ ।

    बिजुली उत्पादनपछि सो पानीलाई पुनः अरुणमा छाडिने छ । आयोजनास्थलसम्म पुग्न २६.८ किलोमिटर लामो पहुँचमार्ग बनाउनुपर्ने भएको छ । आयोनाको अधिकांश संरचनाहरु मकालु र वरुण राष्ट्रिय निकुञ्जमा बन्नेछ ।

    यो पनि :

    ‘मुगु कर्णाली र किमाथान्कामा स्वदेशी नआए मात्र विदेशी लगानीकर्तालाई बोलाउने छौं’ (अन्तर्वार्ता)

    मुगु कर्णाली र किमाथांका अरुणमा पर्याप्त वित्तीय प्रस्ताव नपरेपछि १५ दिन थप

    मुगु कर्णाली र अरुण किमाथांका निजी साझेदारीमा बनाउन सरकारले माग्यो प्रस्ताव, ५ खर्ब ५३ अर्ब लाग्ने

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend