काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका उनी बिहीबार पोखरामा नै बसेका थिए ।
रास्वपा स्रोतका अनुसार उनी साढे १ बजे जहाजमार्फत पोखराबाट काठमाडौं आउने र आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका हुन् । लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई छाडेको थियो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो ।
काठमाडौंमा भने कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ ।