काठमाडौं । जलविद्युत व्यवसायी उमेश कसजुले अमेरिकाको विद्युतीय गाडी टेस्लाको नेपालमा अधिकृत बिक्रेता (एजेन्सी) को जिम्मा पाएका छन् । लामो प्रयासपछि व्यवसायी कसजुले टेस्लाको नेपाल एजेन्सी पाएका हुन् ।
विश्वभरी नै टेस्ला विद्युतीय गाडीले एजेन्सी दिएको छैन् । टेस्ला कम्पनी आफैले शोरुम खोलेर बेच्दै आएको छ । टेस्ला विद्युतीय गाडीको एजेन्सी पाउने व्यवसायी कसजु पहिलो व्यक्ति हुन् ।
टेस्लाका सबै ब्राण्डका विद्युतीय गाडी नेपालमा बेच्न एजेन्सी पाएको व्यवसायी कसजुलीले जानकारी दिए । गाडी आयात गर्न कसजुले टेस्ला नेपाल प्रालि स्थापना गरेका छन् ।
अहिले बालुवाटारमा टेस्लाको शेरुम र जावलाखेलको एकान्तकुनामा सर्भिस सेन्टर पूर्वाधार निर्माण भइरहेको छ । शोरुम र बिक्रीपछिको सेवा दिन आवश्यक पूर्वाधार तयारपछि मात्र टेस्लाले गाडी आयात गर्न दिने भएकाले अहिले पूर्वाधार बनाउन धमाधम काम भइरहेको उनले सुनाए ।
शोरुम र बिक्रीपछिको पूर्वाधार बनाउन १५ करोड रुपैयाँ लगानी हुने उनको भनाई छ । शोरुम र सर्भिस सेन्टर पूर्वाधार टेस्ला कम्पनीकोको अधिकारीले प्रमाणित गरेपछि मात्र टेस्ला विद्युतीय गाडी आयातको अनुमति पाउने भएको छ । टेस्लाको मापदण्ड र डिजाइनअनुसार गाडीको शोरुम र सिर्भिस सेन्टर बनाउनु पर्ने उनले बताए । यसका लागि दुई शोरुम र एउटा सर्भिस सेन्टर बनिरहेको उनले जानकारी दिए ।
छिमेकी चीनमा टेस्ला विद्युती गाडी उत्पादन गर्ने गिगा फ्याक्ट्री रहेको छ । चीनबाट कम्पनीले पहिलो चरणमा टेस्लाको मोडल–३, मोडल वाइ र एक्स आयात गर्ने तयारी गरेको छ । एक सातापछि टेस्ला गाडी आयात गर्न प्रतितपत्र (एलसी) खोल्ने र आउँदो फेब्रुअरीदेखि गाडी बिक्री सुरु गर्ने तयारी भएको कम्पनीका अध्यक्ष कसजुले बताए । चाँडै टेस्लाको बुकिङ पनि खुलाउने पनि उनले सुनाए ।
अहिले व्यवसायी राकेश अडुकियाले नेपालमा टेस्ला विद्युतीय गाडी बेचिरहेका छन् । उनी टेस्लाको आधिकारिक बिक्रेता नभएको कसजुले जानकारी दिए । ‘आधिकारिक बिक्रेता हामी मात्र हौं, एजेन्सी नहुँदा नेपालमा टेस्ला गाडी महंगो भएको छ । एमआरपी मूल्यमा पाउने भएकाले सस्तो पर्ने छ’ उनले सुनौलो नेपालसँग भने ।
अहिलेको बजार मूल्य भन्दा ३० देखि ४० प्रतिशत सस्तोमा टेस्ला गाडी नेपालमा उपलब्ध हुने कसजुले जानकारी दिए । एमआरपी मूल्यमा पाउने भएकाले सस्तो हुने उनको भनाई छ । धेरै भन्दा धेरै गाडी बेच्ने लक्ष्य लिएको कसजुको भनाई छ ।
चार वर्षको लगातार प्रयासपछि हङकङ र दुबइबाट नेपालमा टेस्लाको एजेन्सी पाएको उनले सुनाए । जलविद्युत लगानीकर्ता भएकाले एजेन्सी पाउन सहज भएको उनको अनुभव छ ।
छिमेकी भारतमा टेस्ला गाडी पुगेको छैन् । गुजरातमा टेस्ला उत्पादन गर्ने प्लान्ट राख्ने चर्चा चले पनि अहिलेसम्म सुरु भएको छैन् । चीन र भारतबीच भूराजनीतिक कारणले गर्दा ढिलाइ हुन गएको छ । भारतमा उत्पादन भएपछि टेस्ला गाडी सबैको पंहुचमा पुग्ने उनको भनाई छ ।
टेस्लाको विश्वको सबैभन्दा महंगो विद्युतीय गाडी हो । टेस्लो विश्वभरी साम्राज्य जमाउँदै गएपछि जापानका अटो कम्पनीहरु धमाधम मर्ज हुन थालेका छन् । टेस्ला विद्युतीय गाडी उत्पादन गर्ने एलन मस्क ४ खर्ब २० अर्ब डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्ति बनेका छन् ।
व्यवसायी कसजुले १ सय ५ मेगावाट क्षमताका चार जलविद्युत आयोजना बनाइरहेका छन् । उनले १ मेगावाटको माथिल्लो हाँडिखोला, २२.२ मेगावाटको चाकुखोला–१, ३६ मेगावाटको माथिल्लो बलेफीखोला, र ४६ मेगावाटको बलेफी ए आयोजना रहेका छन् । बलेफी ए आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र बिजुली उत्पादन हुने उनले जानकारी दिए ।