logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • खोटाङमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु

    खोटाङमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु

    406
    Shares
    खोटाङमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु

    खोटाङ । दिक्तेलबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

    केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७ः३० बिरामी लिएर काठमाडौँ हिँडेको थियो ।

    आगलागीमा परी गम्भीर घाइते भएकी माया गुरुङलाई लिएर काठमाडौँ जाँदै गरेको सुमो गएराति दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

    मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा आज बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थामा स्थानीयले देखेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई जानकारी दिएका थिए ।

    सुमो चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन् । उनी फरार रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

    सुमोमा चालकसहित चारजना मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

    “सुमो दुर्घटनाका बारेमा आज बिहानमात्र जानकारी प्राप्त भयो । घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ”, उनले भने, “चालक भेटिएका छैनन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।”

    उपचारमा पठाइएका बिरामीसहित एकै परिवारका तीनैजनाको मृत्यु भएको खबरले आफन्त तथा गाउँले शोकमा परेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend