काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा विदेशी विनिमय सञ्चिती साढे १३ प्रतिशत बढेको छ । गत पुससम्म विदेशी विनिमय सञ्चिती बढेर २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति १०.३ प्रतिशत बढेर १६ अर्ब ८४ करोड पुगेको छ । गत असार मसान्तमा १५ अर्ब २७ करोड डलर थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ पुसमा १२.१ प्रतिशत वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । २०८१ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । २०८१ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४०.६, १२०.३ र ३२.० प्रतिशत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस