
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरीविकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न युवाहरुलाई आग्रह गरेका छन् ।
बुधबार नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईले गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपामला शैक्षिक गुणस्तरको विषयलाई लिएर प्रश्न उठाइने गरेको भएपनि अहिले त्यो अवस्था नरहेको बताए । उनले अहिले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा पढाइ हुने विषयहरु पनि नेपालकै क्याम्पसहरुमा अध्ययन गर्न सकिने अवस्था रहेको उल्लेख गरे ।
उनले नेपालमै अध्ययन गरी नेपाली समाजलाई अगाडि बढाउन युवाहरुले विशेष ध्यान दिन जरुरी रहेको बताए ।
उनले भने, ‘शैक्षिक गुणस्तरको कुरालाई लिएर जुन प्रश्न गरिन्छ, त्यो खास गरेर मै विद्यार्थी हुँदा हामीले सिमित विषयहरु छान्न पाउने गर्दथ्यौँ । तर अहिले त्यो अवस्था छैन । हामीले धेरै विषयहरु छानेर अध्ययन गर्नसक्छौँ । अहिले विभिन्न विषयमा अध्ययन गर्न मिल्छ । अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढाइ हुने विषयहरु अहिले नेपालमै बसेर पढ्न मिल्छ । यहीँ नेपालमै बसेर अध्ययन गरेर समाज अघि बढाउन सकिन्छ, त्यसमै ध्यान दिनुपर्छ ।’
उपप्रधानमन्त्री सिंहले क्याम्पसको पूर्वाधार विकास गर्नुपर्ने काममा सरकारले विशेष ध्यान दिने पनि बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend