
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन् ।
शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवद्र्धन गर्ने हिसावले ल्याएको बताए । उनले अध्यादेशको बिरोध भयो भनेर कोशिस असफल नहुने बताए ।
उनले दुई प्रमुख राजनीतिक दलहरुले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्पहरु रहेको बताए । उनले विकल्प प्रयोग गरेर भएपनि अध्यादेशलाई राज्यको कानूनमा ढाल्ने बताए ।
उनले अध्यादेश आफैँमा कानून भएको बताए । कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने बताए ।
महासचिव पोखरेलले भने, ‘अहिले सरकारले जुन हिसावले अध्यादेशका माध्यमबाट यो क्षेत्रलाई सम्बोधन गर्ने कोशिस गरेको छ । अब अध्यादेशको बिरोध भयो भन्ने बित्तिकै त्यो कोशिस असफल हुन्छ भन्ने नठान्नुहोला । किनकी त्यो कोशिस प्रमुख पार्टीहरुले सचेततापूर्वक ल्याएको काम हो । त्यसअर्थमा हामी त्यसलाई जसरी पनि टुंग्याउँछौँ ।
कसैले बिरोध गर्यो भनेर त्यो बिरोधले रोकिनेवाला छैन । अनेक विकल्पहरु छन् । विकल्प प्रयोग गरेर भएपनि हामी त्यसलाई राज्यको कानूनमा ढालिहाल्छौँ । यद्यपि अध्यादेश आफैँमा कानून हो । प्रयोगमा आइसकेको छ । अब नियमावली बनेको छैन भन्नेखालको कुरा पनि हामीले त नियमावली आवश्यक पर्ने चिज बनाइहालौँ भनेको छौँ । सायद बनाइसकेको होला जस्तो लाग्छ ।
आवश्यक नपर्नेका लागि कानून नै कार्यान्वयन हुन्छ । नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली हो । कानूनले नै स्पष्ट तोकेको चिजमा नियमावली आवश्यक पर्दैन । त्यो स्वतः कार्यान्वयनमा जान्छ । तर कतै त्यो नियमावली आवश्यक पर्ने चिज रहेछ भने त्यो पनि हामीले छिटो गर्न सकिन्छ ।’
महासचिव पोखरेलले सरकारले आइसिटी बाहेक अरु कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend