काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्युठानका नेपाली कांग्रेसले आफूविरुद्ध कुप्रचार गरिरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद थापाले यस्तो बताएका हुन् ।
कांग्रेस प्यूठानले कांग्रेसकै कार्यकर्तालाई आफ्नाविरुद्ध बोल्न लगाएर झुटो प्रचार गरिरहेको उनको दाबी छ ।
नेपाली कांग्रेस प्यूठानले ‘जनतासँग कुरा गर्न पनि सूर्य थापासँग अनुमति लिनु पर्ने ?’ भन्दै वक्तव्य जारी गरेको थियो । यसपछि थापाले सामाजिक सञ्जालमा लेख्दै त्यसको प्रतिवाद गरेका हुन् ।
उनले कांग्रेस प्यूठानका सभापति विष्णुकुमार गिरीले जारी गरेको वक्तव्य झूटो, तथ्यहीन भएको बताएका छन् ।
उनले भनेका छन्, ‘नेपाली कांग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला कांग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर ‘क्याटवाक’का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ ।’
उनले लेखेका छन् :
केही नलेख्ने भनेको
तथ्य लेख्नैपर्ने भयो !
नेपाली काँग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला काँग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर 'क्याटवाक'का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ। प्रदेश खानेपानी मन्त्री, जसले सरकारमा काँग्रेसको टिमको नेतृत्व गरिरहनुभएको छ, उहाँले फूल लिएर हात जोड्नुभएको देखिन्छ, दायाँतर्फ झिमरूक गाउँपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष प्रमोद पोखरेल र दायाँतर्फ प्युठान नगरपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपमेयर देवेन्द्र बर्मा उभिएको देखिन्छ। ल मानौँ, एकजना महिला बोल्नुभयो भनेर सामान्य रूपमा नै लिऊँ, यसलाई काँग्रेसका कार्यकर्ता विमल पोखरेलको आइडीबाट टिकटक बनाएर मेराविरूद्द भाइरल गरिएको छ।
जबकि चालू आ.ब.मा बाग्दुला- मच्छी सडकको लागि मेरो सिफारिसमा १ करोड बजेट छुट्टाएर दुईपटक ठेक्का लागिसकेको छ र बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था छ। यस बजेट शीर्षकमा कम्तीमा छ करोड रकम चालू आ.ब.मै थप बजेटका लागि सिफारिस गरेर कोसिस गरिरहेको छु।
प्रदेशबाट छुट्ट्याइएको ७० लाखको अझै टेन्डर निकालिएकोसम्म छैन।
विगतमा ७५ प्रतिशत भारतीय निर्माण सामग्री प्रयोग अनिवार्य गरेर गरिएको ठेक्का सम्झौताअन्तर्गत १० वर्षदेखि कुरा भएर काम नभएको बाग्दुला-मच्छी-भिमगिठे सडकको पुनः ठेक्का लगाउन गतवर्ष माघमा भारतीय एक्जिम बैंकलाई पत्रचार गरिएकोमा अहिलेसम्म कुनै जवाफ दिइएको छैन। र, ठेकेदारले उच्च अदालतमा हालेको मुद्दामा कुनै निर्णय नभएकाले वैकल्पिक स्रोत खोजेर निर्माण अघि बढाउनसमेत अल्झन परेको छ।
यति स्पष्ट तथ्यमा पर्दा हालेर किन मोटर बाटोमा पैदलयात्रा(क्याटवाक) भएको रहेछ ? यति सरलरूपमा छर्लङ्ग दुराशय हामीले बुझेका छैनौँ र ?
अनि सत्ता साझेदार दल, जिम्मेवार मन्त्री, जनप्रतिनिधि र काँग्रेसको नेतृत्व तहबाट गरिएको यस्तो कुप्रचार र योजनाबद्ध दुष्प्रचार किन ?
काँग्रेस सभापति विष्णुकुमार गिरीले जारी गर्नुभएको वक्तव्य झूटो, तथ्यहीन र भ्रमको खेती गर्ने नियोजित षड्यन्त्रको गोटी बनेर आएको छ। यसका बारेमा नेकपा(एमाले), प्युठानले संस्थागत रूपमा स्पष्ट गर्ने नै छ।
जहाँसम्म "जितको उन्माद" भनिएको छ, यसले पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेर मैले जितेको त जीवित तथ्य नै हो, कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सके जति बल गर्नुभएकै हो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त ?

यस्तो छ नेपाली कांग्रेस प्यूठानले जारी गरेको वक्तव्य:

प्रतिक्रिया दिनुहोस