काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन् ।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दलाल पुँजीलाई र विचौलियालाई पोस्ने काम सरकारले गर्न खोजिरहेको उनको आरोप छ ।
यसबारेमा भण्डाफोर गर्न पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे । उनले समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको बताए । कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ कानूनको भक्षक बनेको उनको आरोप छ ।
अध्यक्ष नेपालले भने, ‘समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । यो कानूनको खुलेआम उल्लंघन गरेर सरकार जसरी अघि बढेको छ । कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ कानूनको भक्षक बन्न पुगेको छ । संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने, विधेयक ल्याउनुछ भने त्यसको प्रक्रियाबाट अघि जानुपर्नेमा संसद नै छलेर, संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ ।
६ वटा अध्यादेश ३० वटा कानूनमा संशोधन यसको पछाडि राम्रो नियत देखिँदैन । भूमि सम्बन्धी ऐनको बारेमा चर्चा भइसकेको छ । त्यसैगरी मिडियासँग जोडिएको नियन्त्रण गर्न खोज्ने नियत पनि स्पष्ट भइसकेको छ । यि सबै कुराको सन्दर्भमा भन्ने हो भने जसरी दलाल पुँजीलाई, विचौलियालाई पूरै पोस्ने काम सरकारले गर्न खोजिरहेको छ । यसको पनि तपाईंहरुले भण्डाफोर गर्नुपर्छ ।’
अध्यक्ष नेपालले आफूहरुले विपक्षी दलहरुलाई बोलाएर सरकारको खबरदारी गरेको बताए । उनले आफूहरुले दिएको दबाबबाट आत्तिएर सरकार अधिवेशन बोलाउन बाध्य भएको बताए । उनले दबाबकै कारण संसदमा पेश गरेको अध्यादेश तत्काल अघि नबढाइएको बताए ।
प्रतिक्रिया दिनुहोस