२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

अध्यादेश संसदबाट पारित हुन्छ : प्रधानमन्त्री ओली

सोमवार , फाल्गुण ५, २०८१

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसदबाट पारित हुने बताएका छन् ।

दाङको घोराहीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा आफ्नो नेतृत्वको सरकार केन्द्रित रहेको स्पष्ट पारे ।

नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको बताउँदै उनले दाङको देउखुरीमा पनि सुरुङमार्ग बनाउने योजना रहेको जानकारी दिए ।

“अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्त आयोजना निर्माण भइरहेका छन्”, उनले भने, “हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन ।”

प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताए । उनले दाङ कृषिमा उर्वर भूमि भएको र हिजो विकासमा पछाडि परेको भए पनि अब अगाडि बढ्ने बताए ।

सोही कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले साना दलले गलत भाष्य निर्माण गरी प्रचार गरेकाले देश अस्थिरतामा गएको बताए । मुलुकको निराशालाई चिर्न एमाले सरकारमा आएर समृद्धिको पाइला अगाडि बढेको उनले बताए ।

लुम्बिनी प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव पद्मा अर्यालले विकासका लागि जनताको साथ चाहिने बताइन् । यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट