लामो समय बैंकिङ क्षेत्रमा बिताएका भुवन दाहाल सानिमा बैंकमा सिइओको रुपमा दुई कार्यकाल पुरा गरेपछि अहिले अवकास जीवन विताइरहेका छन् । दाहालले अहिले वित्तीय साक्षरता अभियान चलाइरहेका छन् । दुर्गम ग्रामीण क्षेत्रमा गएर वित्तीय साक्षरता दिइरहेका दाहाल नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष समेत हुन् ।
अहिले बैंकिङ क्षेत्रमा आएका समस्या र समाधानको उपायका विषयमा केन्द्रीत रहेर सुनौलो नेपालले पूर्वअध्यक्ष दाहालसँग गरेको कुराकानी ।
अहिले के गरेर समय बिताइरहनु भएको छ ?
आफूले जानेको कुरा साथीभाइसँग बाँड्ने, कुरा गर्ने, ‘लेट्स गिभ ब्याक टू द सोसाइटी’ भनेर वित्तीय साक्षरतामा लागेका छौँ ।
वित्तीय साक्षरतामा तपाईं कत्तिको सफल हुनुभएको छ ?
एक जना मान्छेलाई मात्र परिवर्तन गर्न सकियो भने पनि सन्तुष्टि हुन्छ । त्यसैले यसमा लागिरहेका छौँ, कत्तिको परिवर्तन भयो थाहा छैन । तर, हामी साक्षरता बढाउन लागिरहेका छौँ ।
वित्तीय साक्षरता अभियानलाई कसरी अगाडि बढाउनु भयो ?
पहिलादेखि नै आफूले जानेको कुरा अरुलाई पनि सिकाउनुपर्छ भन्ने थियो । मेरो त लक्ष्य पनि शिक्षक बन्ने थियो । म पढाउने काम पहिला पनि गरिराखेको थिएँ । अहिले आफूले जानेका अनुभव साटासाट गर्ने काम गरिराखेको छु । यो पहिलादेखि कै रहर हो । पहिला पनि बेला बेलामा अभिव्यक्त भइराखेको थियो, अहिले बढी समय दिएको मात्र हो ।
लामो समय बैंकिङ क्षेत्रमा बिताउनुभयो । एउटा वाणिज्य बैंकमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनुभयो । अहिले बैंकिङ क्षेत्रमा समस्या देखिएको छ, यसको कारण के होला ?
कुनै पनि क्षेत्रमा समय समयमा फेरवदल भईरहन्छ अर्थात वातावरण परिवर्तन भईरहन्छ । अहिले बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढेको अनि बैंकहरुको नाफा पनि घटेको भन्ने सन्दर्भमा यहाँले भन्नुभएको होला । निष्क्रिय कर्जा बढेको कारणले गर्दा वास्तवमै नाफा घटेको छ । यसमा अन्य कारण पनि होलान् तर, मूल कारण निष्क्रिय कर्जा बढ्दा समस्या देखिएको हो ।
यही कारणले गर्दा बैंकहरुले ‘लोन लस प्रोभिजन’ बढी गर्नु परेको छ । विगतदेखि कै केही नीतिगत समस्याहरु पनि होलान् । अर्थतन्त्रमा सुस्तता भनिराखेका छौँ । केही अगाडिसम्म केही क्षेत्रमा नकारात्मक वृद्धिदर हामीले देखिराखेका थियौँ । त्यसले गर्दा पनि त्यो क्षेत्रबाट निष्क्रिय कर्जा बढ्यो । निष्क्रिय कर्जा बढ्ने वित्तिकै बैंकहरुले जोखिमको लागि बढी रकम छुट्याउनु पर्यो, त्यसले गर्दा नाफा घटेको हो ।
मलाई के लाग्छ भने, विगत छ महिनाको तथ्यांक हेर्दा कर्जाको वृद्धिदर पनि निक्षेपको भन्दा बढी भएको, राजस्वको वृद्धिदर पनि देखिएको, बैंकहरुकै पनि अन्य शुल्क आम्दानी र विदेशी मुद्राबाट हुने आम्दानी कम भएको थियो । अहिले बैंकिङ क्षेत्र सुधारउन्मुख देखिन्छ ।
सुधार हुन्छ भन्नेमा यहाँ कतिको आशावादी हुनुहुन्छ ?
म चाहिँ सुधार उन्मुख देखिराखेको छु । अहिलेको तथ्यांक हेर्दा सुधार उन्मुख देखिराखेको हुँ । अंग्रेजीमा एउटा भनाई छ, ‘ह्वाट इज सर्टेन अवाउट फ्युचर ? भन्दा ‘अन्ली थिङ सर्टेन अवाउट फ्युचर इज अन सर्टेन ।’ तर, हामीले विगतका तथ्यांकहरु, ट्रेन्डहरु विश्लेषण गर्दा सुधार हुनुपर्ने हो भन्ने देखिन्छ । भोली ठ्याक्कै यही हुन्छ भनेर त के भन्न सकिएला ।
बैंकिङ क्षेत्रमा सुधार भएको देखिएको छैन नि ?
तर, यस्तो छ नि त, यसपाली कर्जाको वृद्धिदर निक्षेपको वृद्धिदर भन्दा बढी छ । बैंकहरुको अन्य शुल्क आम्दानी पनि बढेको देखिन्छ । विदेशी मुद्राको आम्दानी पनि बढेको देखिन्छ । खाली अहिले बैंकहरुको नाफामा हिट भएको अर्को कारण ब्याजको निलम्बन ९० दिनभन्दा बढी नउठेको, खराब कर्जालाई मात्र निलम्बन गथ्र्यौँ भने अहिले ९० दिनपछि सुक्ष्म निगरानी (वाच लिस्ट) को ऋणहरु पनि निलम्बन हुने भयो ।
त्यो कारणले गर्दा अहिले नाफा घटेको देखिन्छ । खुद ब्याज आम्दानी घटेको देखिन्छ, त्यसलाई हटाएर हेर्ने हो भने नीतिगत परिवर्तनको कारणले हो । त्यो आफ्नै पैसा हो, सुधार भएपछि आफ्नो ठाउँमा आइहाल्छ । त्यसलाई हटाउने हो भने त्यस्तो निरुत्साहित हुनुपर्ने अवस्था चाहिँ छैन ।
तर, यो वर्ष पनि बैंकहरुले अझै बढी लोन लस प्रोभिजन थप गर्नुपर्ने हुनसक्छ । त्यो कारणले गर्दा यो वर्ष पनि बैंकहरुको नाफामा असर पर्न सक्ला । तर, अर्को वर्षदेखि समग्र बैंकिङ क्षेत्र राम्रो हुनेमा म आशावादी छु ।
अधिकांश बैंकहरुले सेयर धनीलाई लाभांश दिने स्थिति छैन, लगानीकर्ताले कहिलेदेखि राम्रो प्रतिफल पाउने देख्नुहुन्छ ?
अधिकांश बैंकको लागि यसपालि पनि गाह्रो होला । आर्थिक गतिविधि चलायमान हुँदै गएपछि अर्को सालदेखि धितोको रुपमा रहेको जग्गाहरु बिक्री हुन थालेपछि ‘प्रोभिजन राइट ब्याक’ हुन्छ, त्यसले नाफा पनि बढाउन सहयोग गर्छ ।
बैंकहरुलाई यो समस्या आउँछ भनेर पहिलादेखि नै थाहा थियो । ध्यान नपुर्याएको, नियमन बाहिर गएर काम गरेको भन्ने कुराहरु पनि आएको छ, यस विषयमा यहाँ के भन्नुहुन्छ ?
सबै कुरा थाहा भएको भए आफैँलाई घाटा हुने काम कसैले गर्छ होला र ? थाहा नभएर पनि हुन्छ । कहिले काहीँ प्रतिस्पर्धाले गर्दा उसले गर्यो म पनि गर्छु, के चाँही भइहाल्ला र भन्ने पनि हुन सक्ला । थाहा पाउँदा पाउँदै म खाल्डोमा खस्छु भन्दा काम नगर्लान् । उहाँहरुले पनि केही सुधार हुने अपेक्षाले नै केही नीतिगत निर्णयहरु लिनुभएको थियो होला ।
तर, कहिले काहीँ ‘आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो’ भने जस्तो पनि हुनसक्छ । अहिलेको जुन सुधारको संकेत देखिएको छ, त्यसले निरन्तरता पायो भने अर्को वर्षदेखि सेयर धनीले लाभांश पाउनेमा आशावादी छु ।
घरजग्गा सुस्त हुँदा बैंकलाई ऋण असूलीमा समस्या भएको देखिएको छ । घरजग्गा कारोबारमा कहिलेदेखि सुधार आउला ?
बैंकको ऋण रिकभरीको मूल्य जग्गासँग लिंक छ । जग्गाको मूल्य कतिपय ठाउँमा सुधार भइराखेको छ । कतिपय ठाउँमा थप सुधारको अपेक्षा गरिरहनुभएको होला ।
कुनै पनि चिजको मूल्य भनेको त्यसको मागले निर्धारण गर्ने हो । माग के कुराले निर्धारण हुन्छ भने त्यसको प्रतिफल के छ त भनेर हेर्ने हो । अहिले पनि जग्गाको भाउ केही सुधार हुनुपर्छ भन्ने लाग्छ मलाई । काठमाडौं बाहिर त सुधार भइराखेको छ । प्रायः सबै जिल्लाको मान्छेहरु काठमाडौँ उपत्यकामा आउन चाहानुहुन्छ । तर, अहिले पनि माग भने छ, तर अन्य क्षेत्रमा मूल्य सुधार भइरहेको छ । जग्गाको बिक्रीमा पनि सुधार हुन्छ । त्यसपछि बैंकहरुको कर्जा घट्न सहयोग हुन्छ ।
घरजग्गामा अधिक मौद्रिकिकरणले गर्दा पनि बैंकहरुमा समस्या आएको भन्ने छ । यसमा यहाँ कति सहमत हुनुहुन्छ ?
मैले अघि पनि भने, जग्गाको मूल्य र त्यसको भाडासँग तुलना गर्याैँ भने अवश्य पनि जग्गाको मूल्य करेक्सनतर्फ देखिन्छ । काठमाडौंमा अहिले पनि कारोबार भइराखेको छ । काठमाडौं बाहिर कारोबार घटेको छ । घट्दा खेरी पनि रिर्टनसँग लिंक हुन थालेको छ, जुन खुशीको कुरा हो ।
कुनै पनि कर्मचारीले अहिले आफ्नो तलबले काठमाडौं उपत्यका मात्र होइन देशको मुख्य सहरमा घर बनाउन नसक्ने स्थिति छ । त्यो मूल्य सुधार भयो भने त्यसलाई सहयोग गर्छ । त्यसलाई हामीले प्रोत्साहित गर्नुपर्छ ।
घरजग्गाको मूल्य घट्न थालेपछि व्यवसायी डुब्ने र त्यसको असर त फेरी बैंकलाई पर्ने भयो । यसले बैंकलाई कतिको असर गर्ने देख्नुहन्छ ?
घाटा त सबैले बाँड्नै पर्ने हुन्छ । तर, बैंकको सन्दर्भमा भन्ने हो भने जस्तो २० प्रतिशत एनपीए भयो । बैंकहरुले घरजग्गा धितो लिएको छ भने ५० प्रतिशत मात्र दिएको होला । त्यो जग्गाको भाउ ५० प्रतिशत मात्र सुधार हुँदा बैंकलाई असर गरेन । ६० प्रतिशतमा सुधार हुँदा १० प्रतिशतले असर हुने भयो ।
भनेपछि २० प्रतिशतको १० प्रतिशत भनेको त २ प्रतिशत हो । अहिले बैंकहरुले ५ प्रतिशत प्रोभिजन त गरिराखेकै छन् । २ प्रतिशत घाटा भयो भने पनि बैंकहरुको नाफा प्रोभिजन ठीक भएको कारणले नाफा बढ्ने सम्भावना बढी देख्छु । अगाडि बढ्दै गर्दा सुधारोन्मुख देखिन्छ ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस