
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अनलाईनमार्फत हुने व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउन ‘विद्युतीय व्यापार विधेयक’ ल्याइएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले विधेयकमा छलफलका क्रममा आएका संशोधनहरुलाई नियमावली र कार्यविधिमा समावेश गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।
उनले प्रविधिको विकाससँगै आवश्यक भएका प्रावधानहरु समयक्रमसँगै नियमावली र कार्यविधिमा समावेश गरेर कानूनलाई थप समृद्ध बनाउँदै लैजाने बताए ।
उनले भने, ‘छलफलमा सहभागि माननीयज्युहरुले दिनुभएका महत्वपूर्ण सुझावहरुलाई सरकारले नियमावलीमा र कार्यविधिमा व्यवस्था गरेर यसलाई अझै समृद्ध बनाउने र यसको प्रभावकारितालाई बलियो बनाउनका लागि हामी त्यो विधिबाट पनि जान सक्छौं । विधेयकको छलफलको क्रममा दुई दर्जनबढी छलफलहरु भएका थिए ।
त्यसमा पनि पर्याप्त छलफल भएको छ । हामीले प्रविधिको विकाससँगै यस कानूनलाई पनि संशोधन गर्नुपर्ने हुन्छ । सरकारको तर्फबाट प्रश्तुत भएको यो विधेयकमा सरोकारवालहरुबाट आएका संशोधनहरुलाई समेत प्रयाप्त रुपमा समेटेका छौं ।
अहिले अनलाईनमार्फत हुने व्यापारिक कारोबारलाई नियमन गरि व्यवस्थित र विश्वसनीय बनाउने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले विद्युतीय व्यापार विधेयकको आवश्यकता हामीले महसुस गरेका छौं ।’
विधेयकले अनलाइन व्यापारलाई पारदर्शी बनाउने र उपभोक्तालाई गुणस्तरीय सेवा र वस्तु प्राप्त गर्न सहज हुने विश्वास समेत व्यक्त गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend