बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

कोशी प्रदेशमा सवारी चालकलाई जिम्मेवार बनाउन नयाँ अभियान

कोशी प्रदेशमा सवारी चालकलाई जिम्मेवार बनाउन नयाँ अभियान

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारीसाधनका चालकलाई जिम्मेवार बनाउन कोशी प्रदेशमा नयाँ अभियान सुरु गरिएको छ ।

नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको अभियान आइतबार विराटनगर बसपार्कबाट सुरु भएको हो । अभियान सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सहजीकरण गर्ने छन् ।

कार्यक्रममा प्रतिबद्धतामूलक स्टिकरको लोकार्पण समेत गरिएको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वाला, मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का प्रदेश अध्यक्ष किशोर धमला, नेपाल ट्रेड युनियन कांग्रेसका मोरङ अध्यक्ष सुशील कोइराला, नेपाल यातायात व्यवसायी महासंघका सदस्य राजन कँडेललगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

No description available.

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम राई ज्वालाले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतनाका लागि नयाँ ढंगले जागरण अभियान सुरु गरिएको जानकारी दिए । उनका अनुसार सवारी चालकहरुलाई बढी जिम्मेवार बनाउनेतर्फ अभियान केन्द्रित हुने छ । सवारी चालकलाई लक्षित गरेर तयार पारिएको प्रतिबद्धतामूलक स्टिकर कोशी प्रदेशमा सञ्चालन हुने प्रत्येक सार्वजनिक सवारीसाधनमा टाँस्ने तयारी रहेको उनले बताए ।

स्टिकरमा सवारी चालकको प्रतिबद्धता छ । चालकले लेन अनुशासनको पालना गर्ने, पैदल यात्रुलाई प्राथमिकता दिने, जथाभावी ‘ओभरटेक’ र ‘पार्किङ’ नगर्ने, तीव्र गतिमा तथा लापसे (लागु पदार्थ सेवन) र मापसे (मादक पदार्थ सेवन) गरेर सवारी नलचाउने एवं सधैं ट्राफिक नियमको पालना गर्ने विषय उल्लेख गरेर स्टिकर तयार पारिएको हो ।

No description available.

राईले प्रतिबद्धतालाई चालकले पूरा गरे दुर्घटना न्यूनीकरण हुने बताए । ‘सवारी दुर्घटना बढ्यो । सरकारको मात्रै आश गरेर भएन । त्यही भएर यातायात व्यवसायी एवं मजदुर आबद्ध संघ संगठनकै अगुवाइमा नयाँ अभियानको सुरुवात गरिएको हो,’ उनले भने, ‘दैनिक दुर्घटनामा परेर मुलुकभर औसतमा ७–८ जनाको मृत्यु भइरहेको छ । ४० जनाजति घाइते भइरहेका छन् । १० वर्षको अवधिमा २८ हजार जनाको मृत्यु सवारी दुर्घटनामा परेर भएको छ ।’

माओवादीले चलाएको १० बर्से द्वन्द्वमा पनि त्यति क्षति नभएको राईको भनाइ छ । ‘माओवादी द्वन्द्व १० वर्ष चल्यो चल्यो । युद्धका बेला १७ हजार जनाले ज्यान गुमाए । सर्वसाधारणले संकटकाललगायत अनेक कष्टको सामना गर्नु पर्यो,’ उनी भन्छन्, ‘तर, त्यो बेलाको भन्दा १० वर्षको अवधिमा दुर्घटनामा परेर मृत्यु भएकाको संख्या धेरै छ । सडक संकटकाल लगाउनुपर्ने अवस्था छ । दुर्घटना न्यूनीकरण गर्न सबैले हातमालो गरौं ।’

No description available.

सबै जना सडक दुर्घटनाको जोखिममा रहेको राईले बताए । ‘दुर्घटनामा १ जनाको मृत्यु भयो भने परिवारको सहारा टुट्छ । सबै हिसाबले परिवार ठूलो समस्यामा पर्छ । दुर्घटना गराउने चालक जेल जान्छन् । सडक दुर्घटनाका असरहरु धेरै छन् । त्यसबाट बच्न सबै सजग हुनु आवश्यक छ । चालक जिम्मेवार बन्नुपर्छ,’ उनले भने ।

लापसे र मापसे गरेर सवारीसाधन नचलाउन चालकलाई राईको सुझाव छ । ‘यात्रुको सुरक्षा चालकले नै गर्ने हो । उसले पनि लापसे र मापसे गर्ने हो भने कसरी यात्रुको सुरक्षा हुन्छ ? कानुनविपरीतका काम गरेर कसैको ज्यान गयो भने कारबाही भोग्न चालक आफैं तयार हुनुपर्छ,’ राई भन्छन् ।

सवारी सञ्चालन सम्बन्धी शिक्षाको आवश्यक रहेको बताउँदै राईले नेपालमा चालक र सहचालकलाई पढाउने ठाउँ नभएको उल्लेख गरे । ‘नेपालमा सवारी र सडक शिक्षा प्रणाली छैन । सहर छिरेर केही समय सहचालक बनेपछि चालक बन्ने परिपाटी छ,’ उनी भन्छन्, ‘सरकारले चालकलाई यातायात सम्बन्धी शिक्षा दिन आवश्यक छ । चालकलाई लाइसेन्स (सवारी चालक अनुमति पत्र) दिनुअघि पढाउनलाई संरचना बनाइनुपर्छ ।’

No description available.

लाइसेन्स दिनुअघि चालकलाई सवारी एवं सडक सम्बन्धी शिक्षा प्रदान गर्ने गरी संरचना बनाउन आवश्यक रहेकोमा उनको जोड छ । आवश्यक शिक्षा दिएपछि मात्रै चालकलाई थप जिम्मेवार बनाउन सकिने र दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने राईले बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका मोरङ अध्यक्ष सुशील कोइराला, नेपाल यातायात व्यवसायी महासंघका सदस्य राजन कँडेललगायतले के कारणबाट दुर्घटना भइरहेको छ भनेर यकिन गर्दा मात्रै न्यूनीकरण गर्न सकिने बताए । ‘के कारणले दुर्घटना बढ्यो भनेर थाहा पाउन सकिएन । चालकलाई थुनेर मात्रै समस्याको समाधान हुँदैन,’ उनीहरु भन्छन् ।

विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने अभियान सफल पारेर चालकलाई जिम्मेवार बनाउनुपर्ने बताउँछन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका डीएसपी रामेश्वर त्वातीले ७० प्रतिशत दुर्घटना चालकको लापरबाहीले हुने गरेको बताए ।

दुर्घटना न्यूनीकरण गर्न र चालकलाई जिम्मेवार बनाउन सडकमा ट्राफिक सक्रियता बढाइएको उनको भनाइ छ । डीएसपी त्वातीले अधिकांश दुर्घटनामा चालक नै जिम्मेवार हुने बताए ।

No description available.

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले सडकको अवस्था ठीक नभएकाले पनि दुर्घटना बढेको बताए । ‘अधिकांश दुर्घटनामा चालकको लापरबाही देखिन्छ । ट्राफिक नियमको उल्लंघनलगायतका मानवीय कारण पनि छन् । केही दुर्घटना प्रतिकूल मौसम र सडकको खराब अवस्थाले समेत भएका छन्,’ उनले भने ।

दुर्घटना न्यूनीकरणको उद्देश्य राखेर जनचेतनामूलक कार्यक्रम नियमित सञ्चालन गरिएको जानकारी अधिकारीले दिए । चालु आर्थिक वर्षको हालसम्म १५ हजार हाराहारी जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसबाट ३ लाखभन्दा बढी लाभान्वित भएको उनको भनाइ छ । चालकले सुरक्षित हिसाबबाट गाडी चलाउनुपर्छ भन्ने महसुस गरेमा दुर्घटना कम हुने उनले बताए ।

उनका अनुसार कोशी प्रदेशमा ९ लाख बढी सवारीसाधन दर्ता छन् । दुर्घटना हुनेमा सबैभन्दा धेरै २ पांग्रे सवारीसाधन रहेका छन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend