२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘पूर्वाधार र ‘कनेक्टिभिटी’ बढाउन सके ५० लाख पर्यटक सहजै ल्याउन सक्छौँ’ (अन्तर्वार्ता)

आइतवार , फाल्गुण १८, २०८१

होटल व्यवसायी विनायक शाह एयरपोर्ट होटलको सञ्चालक हुन् । शाह अहिले होटल व्यवसायीहरुको छाता संगठन होटल एसोसियसन अफ नेपाल (हान) का अध्यक्ष छन् । संघको पहलमा सरकारले होटललाई प्राथमिकता प्राप्त राष्ट्रिय उद्योगको मान्यता दिने अवस्थामा पुगेको छ । शाहाले नयाँ होटल खोल्ने योजना बनाएका छन् ।

होटल व्यवसायका अवस्था र बढी भन्दा बढी पर्यटक भित्र्याउन खोल्नुपर्ने भुमिकाको विषयमा केन्द्रीत रहेर अध्यक्ष शाहलसँग सुनौलो नेपालले गरेको कुराकानी ।

छाता संगठन होटल एसोसियशनको अध्यक्ष हुनभएको एक वर्ष पुरा भएको छ । यसबीचमा यहाँले कति काम गर्न सक्नुभयो ?

सफल हुन प्रयास त धेरै गरिएको हुन्छ । परिणाम नआएसम्म यो काम गरेँ भनेर भन्न पनि गाह्रो र देख्नलाई पनि गाह्रो हुन्छ । त्यसकारण परिणाम देखिएको कामहरु मात्र भन्ने हो । दशकौँको प्रयासपछि होटल क्षेत्र राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण हुने भएको छ । सरकारले अध्यादेशमार्फत यस्तो व्यवस्था गरेको छ ।

अध्यादेशलाई संसदले प्रतिस्थापन गरेपछि होटलले प्राथमिकता प्राप्त उद्योगको मान्यता पाउनेछ । होटल सञ्चालकहरुका लागि पनि यो माइलस्टोन हो । वर्षौंको पहलपछि सरकारले हाम्रो मागको सुनुवाइ गरेको छ । एउटा महत्वपूर्ण काम यो पनि भयो ।

दोस्रो कुरा, एकपछि अर्को अन्तर्राष्ट्रिय चेन होटलहरु, ठूला ठूला तारे होटलहरु नेपालमा बनिराखेको र सञ्चालनमा आइराखेका देखिन्छन् । पहिला काठमाडौं वरिपरी मात्र धेरै होटल थिए । अहिले काठमाडौंपछि चितवन र पोखरा बाहेक यसको अन्य क्षेत्रमा बढेको छ । अहिले सातै प्रदेशमा ठूलो लगानीमा पाँचतारे होटलहरुको उपस्थिति भइसकेको छ ।

यसबाट पर्यटनका साथै देशको आर्थिक क्षेत्रले पाउने प्रतिफल बढाउँछ भन्ने देखाउँछ । पर्यटन ऐन २०३५ सालको छ । आजको स्थितिलाई त्यसले सम्बोधन गर्न सक्दैन । त्यसैले पुरानो ऐन परिमार्जनका लागि प्रक्रिया अगाडि बढेको छ । कतिपय कुराहरु त २०३५ सालमा कल्पना गरिएको थिएन ।

संसार पर्यटनमा कहाँबाट कहाँ पुगिसक्यो । त्यसैले पर्यटन ऐन नै नयाँ आउने प्रक्रियामा छ । पर्यटन नीति सबैलाई समेटेर मूलभूत रुपमा आउने प्रक्रियामा छ । पर्यटन देशको मुख्य कडी हो भन्ने कुरा त आइरहेको हुन्छ । तर, त्यसले जुन प्राथमिकता पाउनु पर्ने हो, त्यो पाउने अवस्था आएको छ, जुन चाहिँ सुखद् कुरा हो ।

अहिले जे जति राम्रा कामहरु भइराखेका छन्, त्यो होटल एसोसियशनकै पहलमा भइराखेको छ भन्न खोज्नुभएको हो ?

यो एउटा टिमवर्क हो । काम लगातार रुपमा गरिराखेका थियौँ । अहिले मौका पनि पर्यो । अहिले आर्थिक गतिविधि जसरी बढिराखेको छ, त्यसलाई अगाडि बढाउने कडीको रुपमा लिएर आएको छ । यो सबैको सामुहिक प्रयासमा नै भएको हो ।

सरकारले ल्याएको आधा दर्जन विधेयक संसदबाट पारित भइसकेपछि आर्थिक गतिविधि चलायमान बन्ने सम्भावना कतिको देख्नुहुन्छ ?

आर्थिक क्षेत्रलाई कसरी चलायमान बनाउने भन्ने धेरै कुरा हाम्रो हातमा हुन्छ । सरकारको नीति, नियम, कानूनले एउटा प्यारामिटर तयार गरिदिने हो । काम गर्ने परिधि सिर्जना गरिदिने हो । त्यसभित्र रहेर कसरी काम गर्छौँ भन्ने महत्वपूर्ण कुरा हो । तर, सरकारमा जो नीति निर्माताको रुपमा हुनुहुन्छ, ब्युरोक्रोसीको कुरा छ, त्यसले दिशानिर्देश भने पक्कै गर्छ ।

सरकारले यो गर्न खोजेको हो भन्ने कुरा नीति, नियममा नै आइसकपछि त्यसमा हामीले पनि माग गर्न सक्छौँ । नियम, कानूनले यसो भन्छ, हामीलाई यो कुरा चाहियो भन्न सक्ने अवस्था त आएको छ । यसमा पक्कै पनि हिजो भन्दा फरक त भई नै हाल्छ । हामीले काम गर्ने तौर तरिका, हाम्रो जोश, हामीले गर्नुपर्ने मोटिभेसनका कुराहरु हिजो थिएन, आज छ भनेपछि स्वभाविक रुपमा हाम्रो कामको रफ्तार त बढिहाल्छ । रफ्तार बढेपछि परिणाम पनि राम्रै आउँछ भन्ने लाग्छ ।

कानून नभएर काम गर्ने वातावरण भएन भन्ने गुनासो अब रहँदैन ?

अझै पनि काम गर्ने मान्छे को भन्नेले फरक पार्छ । एउटाले एक किसिमले गर्ला, अर्को मान्छे आएर अर्को किसिमले गर्ला, त्यसमा हामी लागि पर्ने मान्छेहरु पनि देश, समाज, अर्थतन्त्रलाई फाइदा हुने र व्यक्तिगत भन्दा पनि देशको लागि फाइदा हुने किसिमले अघि बढेको खण्डमा अझै सहज रुपमा अघि बढ्न भन्ने मेरो अनुमान हो ।

बाँकी कार्यकाल कसरी पूरा गर्ने योजना बनाउनुभएको छ ?

गत माघ २ गते संघको ४९औँ वार्षिक साधारणसभा भयो । त्यो साधारण सभाले होटल संघ नेपाल सात प्रदेश ७७ जिल्लामा उपस्थिति जनाउने प्रस्ताव पारित गरेको छ । यसको मतलब हामी अब संघीय ढाँचामा जाँदैछौँ । अलिकति पर्यटकको रुचीमा भएका ठाउँहरुमा हाम्रो उपस्थिति थियो, अब विधान नै संशोधन गरेर संघीय संरचनामा गएका छौँ । यो पनि एउटा उपलब्धि हो ।

होटलमा ठूलो लगानी भइराखेको छ, भोलीका दिनमा लगानी जोखिममा हुने सम्भावना कतिको छ ?

यहाँले भन्नुभएको कुरा सही हो । यस्तै खालका धेरै प्रश्नको सामना गर्नुपरेको छ । हाम्रो भौगोलिक स्थितिलाई हेर्ने हो भने हामी चीन र भारतको बीचमा छौँ । यी दुई देश द्रुतगतिमा आर्थिक विकास हासिल गर्ने मुलुकको रुपमा अगाडि बढिरहेको छ । कोभिड भन्दा अगाडिको तथ्यांक हेर्ने हो भने १५/१६ करोड चिनियाँहरु र ८/१० करोड भारतीयहरु आफ्नो देशभन्दा बाहिर घुम्न निस्किएको अवस्था छ । त्यसको बीचमा हामी छौँ ।

उहाँहरुले खर्च गर्ने अनुपातमा हामीले सेवा सुविधा दिन सक्ने क्षमता विकास गरेका छौँ । लगानीकर्ताले पाँच वर्षपछि के हुन्छ, १० वर्षपछि के हन्छ भन्ने समीक्षा गरेर लगानी गरेको हुन्छ । आज लगानी गरेर तुरुन्तै फाइदा हुने कुरा पनि हुँदैन । आउँदा दिनहरुमा चिनियाँ र भारतीय पर्यटक जति घुम्न निस्किन्छन्, त्यसको केही प्रतिशत मात्र नेपाल आउँदा पनि हामीलाई प्रशस्त हुन्छ । त्यही हिसाबमा लगानी आइराखेको हो । हो, जुन अनुपातमा होटलहरु बढिरहेको छ, यसो हेर्दा ग्राहक कहाँबाट पाइन्छ भन्ने लाग्नु स्वभाविक पनि हो ।

निजी क्षेत्रले त एकपछि अर्को गरेर ठूला होटलहरु बनाइरहेको छ । तर, चीन र भारतको बीचमा हुँदा पनि उनीहरुलाई कसरी देश भित्र ल्याउने त ? पूर्वाधार, सडक यातायात, हवाई यातायातको कुराहरु छ । काठमाडौंको एयरपोर्ट चैतमा त निर्माण सम्पन्न होला तर अहिलेको दिनमा त स्तरोन्नति भइराखेको छ । भैरहवामा केही उडान भइराखेको छ, पोखरामा अझै पनि राम्रोसँग चलाउन सकेको अवस्था छैन ।

भारतीयहरु धेरै सडक मार्ग भएर पनि आउन सक्नुहुन्छ । हाम्रो राष्ट्रिय राजमार्गहरु जसले पोखरा, चितवन, लुम्बिनी जोड्छ, मुख्य गन्तव्य भएको ठाउँमा सडक अस्तव्यस्त अवस्था छ । चार लेन, ६ लेनमा स्तरोन्नति भइराखेको छ तर बनेको छैन । तीन वर्षमा बन्नुपर्ने ६ वर्ष हुँदा पनि तयार भएको छैन । यसले गर्दा पनि अहिले समस्या देखा परेको छ । हाम्रो होटलको क्षमता वार्षिक ३५ लाख पर्यटकलाई सेवा दिन सक्न भइसकेको छ ।

तर, २०२४ को तथ्यांकलाई हेर्ने हो भने जम्मा ११ लाख ४७ हजार पर्यटक नेपालमा भित्रिएको देखिन्छ । यो भनेको हाम्रो क्षमताको एक तिहाई मात्र हो । कुनै पनि व्यवसाय एक तिहाईले मात्र त चल्दैन, यसले आर्थिक स्थिति राम्रोसँग अगाडि बढ्न सक्दैन भन्ने देखिन्छ । केही समयका लागि यसलाई समस्याको रुपमा हेरिएको छ ।

सरकारले पनि प्रक्रिया अगाडि बढाईरहेको छ, हामी पनि लागि परेका छौँ । पूर्वाधार र कनेक्टिभिटी बढाउन सके ३५ लाख मात्र होइन, अर्को एक दशकमा ५० लाख पर्यटक ल्याउन सक्ने सम्भावना हामीले देख्छौँ । यसको लागि हाम्रो काम, प्रण हुनुपर्यो र मुख्य कुरा समन्वय हुनपर्छ । पर्यटन क्षेत्र भनेको सबै क्षेत्रलाई समेट्ने कुराहरु हो । पर्यटक बढ्यो भने ट्याक्सी चालकदेखि हवाई, बैंक, बिमा, ट्रेकिङ र ट्राभललगायत सबैले काम पाउँछन् ।

अहिले पर्यटक चाहिएको छ, यसका लाग कनेक्टिभिटी हामीलाई चाहिएको छ, तर बाटो बनाउने काम पर्यटन मन्त्रालयको होइन । त्यो त भौतिक योजना मन्त्रालय र सडक विभागले हो । बाटो समयमा तयार भएको हुँदैन । जस्तो अध्यागनम प्रणाली पनि पर्यटक सुहाउँदो हुनुपर्यो । तर, त्यो पर्यटन मन्त्रालयअन्तर्गत पर्दैन । भन्नुको मतलब, सरकारी संयन्त्रबीच एक आपसमा जुन संयोजन हुनुपथ्र्यो, त्यो संयोजन अझ बढ्नु पर्ने आवश्यकता देखिएको छ ।

सरकारले पर्यटन दशक घोषणा गरेको छ, यसलाई सफल बनाउन तपाईहरुको भूमिका के हुन्छ ?

हाम्रो भूमिका त अहम् नै हुन्छ । हामीले नै हाँकेर अगाडि जानुपर्ने हुन्छ । पर्यटन वर्ष त २०२३ मा यो भन्दा पूर्ववत् सरकारले घोषणा गरेको हो । दुई वर्ष त गइसक्यो । अहिले बद्री पाण्डे पर्यटन मन्त्री भएर आएपछि भएपछि २०२५–२०३५ घोषणा गर्ने भन्ने कुरा अगाडि बढिरहेको छ ।

तयारी मात्रै छ, घोषणा भइसकेको स्थिति भने छैन । पर्यटन प्राथमिकता वर्ष भनेर कार्यक्रमहरु तयार हुने अवस्था छ । त्यसले प्रदेश, स्थानीय निकाय, निजी क्षेत्र, दातालगायत सबै साझेदार भएर अगाडि बढ्नुपर्यो नि ! त्यो प्रक्रियामा छ ।

पर्यटन दशक कार्यान्वयन हुनेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?

पुरानो रेकर्डलाई हेर्ने हो भने घोषणा हुने तर कार्यान्वयन पक्ष एकदम कमजोर देखिएको छ । चालु आर्थिक वर्षको बजेटले पर्यटन क्षेत्रको झण्डै ८२ वटा कार्यक्रमहरु समेटेको छ । ८ महिना बितिसक्दा पनि त्यसको प्रगति धेरै देखिएको छैन । हाम्रो देशमा योजना घोषणा हुन्छ तर कार्यान्वयन पक्ष एकदमै कमजोर छ । सरकारले घोषणा गरेको योजना कार्यान्वयन भयो भएन, कति भयो, किन भएन भन्ने कुराको निगरानी हुनुपर्छ ।

योजनाहरु त्यति प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन भन्ने कुराहरु भइरहँदा पर्यटन मन्त्री रिपोर्ट कार्डमा दोस्रो हुनुभएको छ, यो केही काम भएर नै भएको होला नि ?

उहाँको प्रयास सत्प्रतिशत नै छ । कोशिस गरिराख्नुभएको छ । त्यो त तुलनात्मक रुपमा दोस्रो हुनुभएको हो । प्रथम नै होस् भन्ने हाम्रो चाहना हो । तर, जुन कुराहरु अगाडि आएको छ, त्यसको सुरुवात त भएको छ । सुरुवात भइसकेपछि त्यसको कार्यान्वयन गर्ने त तपाई हाम्रो पनि काम हो । कमजोरी कहाँ छ भनेर हामी लाग्नुपर्यो । यहाँनेर कमजोरी भयो है मन्त्रीज्यू, सचिवज्यू भन्न त हामी पनि सक्छौँ नि ! यो त एउटा टिम वर्क हो नि हो ।

पर्यटन मन्त्री पाण्डेबाट कतिको सहयोग पाउनुभएको छ ?

हामीले भनेको कुराहरु मन्त्रीज्यूले बुझ्नुहुन्छ । त्यसको नीति नियम, सरकारी परिपाटी होला । सबैलाई मिलाएर लगेको नै हाम्रो अनुभव छ ।

होटललाई राष्ट्रिय मान्यता प्राप्त उद्योग भनेर जुन पहल गर्नुभयो, यो भइसकेपछि के के सुविधा पाइन्छ ?

सुविधा भन्दा पनि काम गर्न सहज हुन्छ । जस्तो सरकारी संयन्त्रले होटललाई हिजोको दिनसम्म सेवा उद्योगको रुपमा मात्र हेरेको थियो । मोटरसाईकल वर्कसप, तरकारी पसल पनि सेवा उद्योग नै भयो, होटललाई पनि त्यही रुपमा हेरिन्थ्यो । अब राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग भन्दा सरकारका नीति निर्माताले हामीलाई हेर्ने दृष्टि नै फरक हुने भयो ।

व्यवहारमा हामीलाई कतिपय कुराहरु सहज हुन्छ । औद्योगिक व्यवसाय नियमावलीले हाम्रो कुराहरु सम्बोधन गर्छ । उद्योग भनेको दीर्घकालीन हुन्छ, यसमा सरकारले हामीलाई गर्ने र हामीले गर्ने व्यवहारमा धेरै परिवर्तन हुन्छ ।

पर्यटन प्रवद्र्धनको लागि सरकारले पर्यटन बोर्ड गठन गरेको छ । त्यसको काम प्रभावकारी भएको देखिँदैन, तपाईलाई के लाग्छ ?

यहाँले भन्नुभएको सही हो । आज भन्दा २५/२६ वर्ष अगाडि पर्यटन प्रवद्र्धन गर्न भनेर पर्यटन बोर्ड स्थापना भयो । पर्यटन बोर्डले सार्वजनिक निजी साझेदारी (पिपिपी) खाकामा काम गर्न खोजेको हो । यसको गठन भइसकेपछि पर्यटन विभागलाई नै विघटन गरिएको थियो । जुन राजनीतिक दल शक्तिमा आयो, जुन दलको मन्त्री भए, त्यो पार्टीका वरिपरीका मान्छे नै त्यहाँ हालिमुहाली भयो ।

निजी क्षेत्रको जुन प्रतिनिधित्व हुनपर्ने हो, जुन आवश्यकता हो, त्यो कुराहरु ओझेलमा परेको छ । अहिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर दिपकराज जोशी आउनुभएको छ, उहाँले केही सुरुवात गर्नुभएको छ । मन्त्रीज्यू, सचिवज्यूबाट पनि त्यसमा सहयोग पुगेको छ भन्ने कुरा सुनेका छौँ ।

कोभिड पछाडि संसारलाई नै पर्यटन चाहिएको छ । किनभने कोभिडले साना ठूला, धनी गरिब सबै देशलाई थिलोथिलो पार्यो । सबैलाई पर्यटन भित्र्याउने चाहना छ । पर्यटन क्षेत्रमा नयाँ आविष्कार र प्याकेजहरु सबैले ल्याएका छन् । हाम्रो छिमेकी देशहरुले पनि गरेका छन् । त्यो अर्थमा हामी पनि त खरो उत्रिनु पर्यो नि ! गएको वर्षायाममा त्रिशुलीमा पर्यटक बोकेको बसहरु खसे । कति जनाको त शव पनि फेला परेन ।

त्यसले नेपालको सडक सुरक्षति छैन भनेर भारतमा नकारात्मक सन्देश गयो । पर्यटन बोर्ड पर्यटन प्रवद्र्धन गर्ने निकायको हिसाबले त्यसको खण्डन गर्नपथ्र्यो । दुर्घटना भनेको भवितव्य हो, भयो । तर, अब हामी हुन दिँदैनौँ, तपाईहरु पर्यटक भएर नेपाल आउँदा खुशी कुरा सबै दिन सक्छौँ, हामी तत्पर छौँ भन्ने जुन बलियो सन्देश दिनुपथ्र्यो, त्यो दिनबाट चुक्यौँ । त्यो कुराहरु आज तथ्यांकले नै देखाउँछ ।

हामीले त आफ्नो किसिमले भनेकै हुन्छौँ । मेरो होटलमा आएर बस्ने भारतीय पर्यटकहरुले नेपाल सरकारलाई भन्नुस न, सरकारले बलियो सन्देश दियो भने नेपाल पठाइरहेको पर्यटक हामी दोब्बर बनाउन सक्छौं भन्छन् । तर, नेपालबाट त्यो पहल भएन । हामीले कुरा गरिराखेका छौँ, त्यसो भएको खण्डमा एक किसिमको आत्मविश्वास बढ्छ ।

अहिलेको दिनमा भारतीय र चिनियाँलाई नै लक्षित गरेर पर्यटनका धेरै भन्दा धेरै काम हामीले गर्नुपर्छ । केही कामहरु तर्जुमा भएका छन्, अब आउने गर्मीयामदेखि हामी लाग्नुपर्छ, यसका लागि हातेमालो गरिराखेका छौं ।

त्रिभुवन विमानस्थल हेर्यो अस्तव्यस्त छ, पोखरा विमानस्थलले अन्तर्राष्ट्रिय उडान भर्न सकेको छैन, भैरहवा विमानस्थल पनि बन्द छ भने कसरी पर्यटन भित्र्याउन लक्ष्य पूरा हुन्छ ?

हामी यही देशको नागरिक भएको हुनाले पर्यटक ल्याउने काम राज्यको मात्र होइन हामी सबैको दायित्व हो । हामी यो देशको नागरिक भइसकेपछि गर्नुपर्ने कुराहरु पनि छन् र अधिकारका कुराहरु पनि छन् । कति कुराहरु कसैले चाहँदैमा हुने होइन वा सरकारले पनि नचाहेको त होइन नि ! मन्त्रीहरु नै पटक पटक भैरहवामा गएर यसको सञ्चालनमा लागिराखेको भन्नुभएको छ ।

सरकारले सुविधाका कतिपय प्याकेज पनि दिएको छ तर पनि हुन सकिराखेको छैन । केही मात्रामा चल्यो तर, अझ पनि चल्न सकिराखेको छैन । पहिला, हामीसँग भएका विमानस्थलमा बढी भन्दा बढी उडानहरु ल्याउन पर्यो । दोस्रो, पोखरा र लुम्बिनी जोड्ने बाटाघाटाको स्तरोन्नति चाँडै भन्दा चाँडै सक्नुपर्यो । त्यो गरेको खण्डमा आजको भन्दा दोब्बर पर्यटक त हामी ल्याउन सक्छौँ । हाम्रोमा राम्रो पूर्वाधार र कनेक्टिभिटी हुनपर्छ । त्यसमा प्रयास सबैको हो, हामी लागिराखेका छौँ ।

कतिपय भू–राजनीतिक कुराहरु होला । त्यो निजी क्षेत्रले भन्दा पनि सरकारकै पहल हुनपर्छ । केही मात्रामा प्रगति भएको छ, नभएको होइन । प्रगतिको जुन गति हो त्यसलाई बढाउनु पर्छ । हामीले खर्बौंँ लगानी गरेका छौँ, लगानीको प्रतिफल न देशले पाएको छ, न लगानीकर्ताले नै । त्यो राम्रो कुरा हुँदै होइन ।

आर्थिक स्थितिलाई उकास्न सक्ने क्षमता भएको क्षेत्र यसरी बसिराख्दा अवसरबाट चुकेका छौँ, देश नै पछि परेको छ । यो सबैले महशुस गरेको कुरा हो । यसमा हामी अझै जागरुक भएर लाग्नुपर्ने भएको छ ।

पर्यटकले खर्च बढाउन बसाई लम्ब्याउने खालको काम किन भएको छैन ?

तपाईले जसरी भन्नु भएको छ, त्यो मात्र पनि होइन । मुस्ताङमा एउटा होटल छ, त्यो होटलले एक रात बसेको मात्र न्यूनतम दुई हजार डलर लिन्छ । त्यहाँ कम्तिमा पनि पाँच रात बस्नुपर्छ भने एकजना पर्यटकले दश हजार डलर खर्च गर्छ । त्यसको राम्रै प्रतिक्रिया आइरहेको छ । त्यसैले हामीले नयाँ नयाँ कुरा ल्याउनुपर्छ ।

अर्कोतर्फ हेर्ने हो भने नेपाल आउने पर्यटक काठमाडौं वरिपरी, त्यो भन्दा पर गयो भने चितवन र त्यो भन्दा पनि पर गयो भने पोखरा त हो नि ! त्यसपछि लुम्बिनी, त्यो भन्दा पर कहाँ जान सकेको छ त ? यसलाई देशैभर लान सक्ने अवस्था छ । पर्यटकको गन्तव्य नभएको होइन, छ, हेर्दा सातै प्रदेशले पर्यटनलाई प्राथमिकतामा राखेको छ । जुन रुपमा व्यवस्थापन हुनुपर्ने त्यो पक्ष कमजोर भएको हो । के गर्नुपर्छ भन्ने थाहा पनि छ । त्यसतर्फ हामी अगाडि पनि बढेका छौँ ।

त्यसलाई छिटो भन्दा छिटो सम्बोधन गर्न हामी सबै सरोकारवालाहरु लाग्नु पर्छ । आज समस्या छ, समस्यालाई पार लगाउने मान्छे पनि त हामी नै हौँ, हामी लाग्नु पर्छ । हाम्रो जुन जोश जाँगरहरु बढाउनु पर्छ भन्ने प्रष्टै छ ।

नयाँ गन्तव्यको खोजी गर्नुपर्ने परिस्थिती आएको हो ?

नयाँ गन्तव्य त हामीलाई चाहिन्छ नै । खर्चालु पर्यटकहरु यहाँ आउँछन् । नेपालमा ट्रेकिङ गर्ने, माउन्टेनरिङ गर्नेले केही लामो बस्लान्, छोटो समय बस्नेहरुलाई लम्ब्याउने वातावरण बनाउनु पर्छ । उदाहरणको लागि राजधानीको डाँडा चन्द्रागिरीमा रिसोर्ट बन्यो, कमसेकम आधा दिन भए पनि त्यहाँ पर्यटक जान थाले । पहिला तीन दिन बस्थे भने अहिले साँढे तीन दिन त बस्न थाले नि ! हो त्यस्तै, सुदूरपश्चिममा पनि छ, कर्णालीमा छ, कोशीमा छ र मधेशमा पनि छ ।

गन्तव्य जति पनि छन्, त्यहाँ हामीले प्रचार प्रसार गराउनु पर्यो । कोभिडपछि धेरै मात्रामा आन्तरिक पर्यटक बढेका पनि छन् । उहाँहरुलाई पनि सम्बोधन गर्नुपर्ने अवस्था छ । त्यसकारण पर्यटन दशकको प्राथमिकता यो हो, यसरी काम गर्ने भनेर त्यसको नीति नियम, कार्यक्रम दिन सक्यो भने त प्रष्ट रुपमा एउटा खाका त आउँछ । आज त मैले आफ्नो किसिमले गरेको हुन्छु, तपाईले आफ्नो किसिमले गर्नुभएको हुन्छ । हाम्रो अगाडिको १० वर्ष यसरी जान्छ भनेर देशले नै भनोस् न, अनि अझै सहज हुन्छ ।

पर्यटकको बसाई लम्ब्याउने माध्यम केबुलकार बन्दैछ, धेरै ठाउँमा बनिरहेका पनि छन्, यसले कत्तिको सहयोग पुर्याउने देख्नुभएको छ ?

नेपालमा त्यस्ता ठाउँहरु धेरै छन् । नेपालमा ठूला फेस्टिभलहरु हुन्छ । जस्तो भक्तपुरमा बिस्केट जात्रा, पाटनमा मछिन्द्रनाथको जात्रा, काठमाडौंको इन्द्र जात्रा । यी तीनवटा जात्रा लाइफटाइम अनुभव दिने खालका जात्राहरु हुन् । हामीले संसारभरबाट हजार देखि १५ सय पर्यटक सजिलै ल्याउन सक्छौँ । जिवित देवी कुमारीलाई हामी पूजा गर्छौँ ।

त्यो देखाउन सकेको खण्डमा त्यो हेर्न त मान्छे आउँछन् नै तर त्यहाँ हुने क्रियाकलापमा उनीहरुलाई सहभागी गराउन सके झनै आकर्षित हुन्छन् । युरोप र एसियामा नै पनि अनुभव गर्न चाहने पर्यटकहरु बढेका छन् । त्यस्ता मान्छेहरु ल्याउन योजना चाहियो, कार्यक्रम चाहियो, नगरपालिकासँग सहकार्य हुनुपर्यो । यसको लागि छलफल पनि चलिरहेको छ । यहाँको संस्कृति, खानाको प्रचार प्रसारले नै नेपालको प्रचार हुने हो ।

पर्यटक भित्र्याउने महत्वपूर्ण माध्यम भनेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम पनि हो । चार वटा विमान छ, तर प्रभावकारी रुपमा चल्ल सकेका छैनन् । यसलाई निजीकरण गर्न ढिलाइ भएन र ?

तपाईले भन्नुभएको कुरा सही हो । कुनै पनि देशको पर्यटनको आधार भनेको व्यवसायीहरुले होटल लगायतको कुराहरु गर्छौँ, त्यो हो । सँगसँगै हाम्रो देशको राष्ट्रिय ध्वजाबाहकको ठूलो भूमिक हुन्छ । चार वटा जहाज मध्ये तीन वटा ग्राउण्डेड छ भने पनि त्यसको इमेज त पक्कै पनि राम्रो छैन । यसको सुधार एकदमै आवश्यक छ । सरकारले पनि नबुझेको होइन, निगम सुधारका काम अझै अगाडि बढिरहेको छैन ।

यसको व्यवस्थापनमा सुधार गर्नुपर्छ । जति छिटो मिलाउन सक्छौँ, देशले त्यति चाँडै फाइदा लिने हो । हामी सबैले देखेकै कुरा हो, जसरी चल्नुपर्ने त्यसरी चलिराखेको छैन ।

अब वायुसेवा निगमलाई कुन मोडलबाट चलाउँदा उत्तम हुन्छ ?

यसको विभिन्न मोडलहरु छन् । निजीकरण एउटा मोडल होला । रणनीतिक साझेदारी भित्र्याएर सञ्चालनका लागि अर्को मोडल बन्न सक्छ । यस्तै अन्तर्राष्ट्रिय जगतमा नाम चलेका ठूल ठूला जहाज कम्पनीहरुले पनि काम गर्न खोजेकै हो । त्यस मध्ये एउटा राम्रो मोडालिटी निकालेर काम गर्नुपर्यो । अरुले गरेको छ, हामीले पनि गर्न नसक्ने भन्ने हुँदैन । तर, सरकारी तवरबाट अठोट हुनुपर्यो ।

तपाईंले होटल खोल्न के कस्ता योजना बनाइराख्नुभएको छ ?

पर्यटन क्षेत्रमा नयाँ नयाँ कुराहरु ल्याइरहनुपर्छ । यही होटलमा नयाँ स्वरुप दिने, नयाँ फिचर थप्ने, रङ्ग रोगनका कुराहरु निरन्तर चलिरहेको छ । पहिलेको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन भइसकेको छ । कोठाहरुको स्तरोन्नति गरेर नयाँ किसिमले अहिलेको समयसँग मिल्ने र प्रतिस्पर्धी हुन पनि आवश्यक छ । यसको फिचरहरु थप्ने योजनामा छौँ ।

हाम्रो एउटा समूह छ, त्यो समूहले काठमाडौं बाहेक पोखरा, लुम्बिनी, मधेश प्रदेश, कोशी प्रदेशमा अली स्तरीय होटलहरु खोल्ने कि भन्ने योजनामा छौँ । यसमा देशको आर्थिक स्थिति पनि हेर्नुपर्छ । कति कुरा सरकारको नीति नियमले पनि फरक पार्छ । संघीय सरकारको एउटा नियम हुन्छ, प्रदेश सरकारसँग मेल खाएको हुँदैन । कर सबैलाई चाहिएको हुन्छ, कर त धेरै तिर्न सकिँदैन नि ! एउटा एकीकृत करको नीति प्रष्ट भइदिए अझै सहज हुन्छ भन्ने हो ।

यसमा विदेशी लगानीको कुराहरु पनि छ । विदेशीसँग पैसामा भन्दा पनि प्रविधिमा सहकार्य गर्दा मूल्य प्रभावकारी हुने, सेवा सुविधा बढी दिन सक्ने कुराहरु छ, त्यतातिर हामी लागिरहेका छौँ ।

अब खोल्ने होटल पाँचतारे नै हुन्छ ?

सुविधा सम्पन्न पक्कै हुन्छ । यसो हेर्दा ठाउँ अनुसारको आवश्यकता हेरेर खोलिन्छ । यद्यपी, स्तरीय भने हुनै पर्यो । स्तरीय पर्यटकहरु आउँदा जस्तो सुविधा खोज्नुहुन्छ, त्यो अनुसार जानै पर्ने हुन्छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ