२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

सांसदद्वारा बाँकेको जयन्दु बालसुधार गृहमा भएको घटनाबारे सरकारको ध्यानाकर्षण

आइतवार , चैत्र २, २०८१

काठमाडौँ । सांसदहरुले बाँकेको जयन्दु बालसुधार गृहमा गत शुक्रबार राति भएको झडपमा परी ४९ जना घाइते भएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले सरकारले उक्त घटनामा विशेष ध्यान दिन जरुरी रहेको बताइन् । उनले भनिन्, “बाँकेको जयन्दु बालसुधार गृहमा भएको झडपमा ४९ जना बालबालिका घाइते भएका छन्, त्यहाँ आगलागी पनि भएको छ, विगतमा संसद्को महिला तथा सामाजिक समितिले सो केन्द्रको अनुगमन गरी सरकारलाई प्रतिवेदन पनि बुझाएको थियो, त्यसमा धेरै विषय उठान गरिएको थियो ।”

उनले केन्द्रमा स्वास्थ्यको मापदण्ड पूरा गरेको र लागूपदार्थको प्रयोग हुने गरेको समेत उल्लेख गर्दै त्यससम्बन्धमा सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सूर्यप्रसाद ढकालले विसं १९८० मा नेपालमा कारागार स्थापना भएको उल्लेख गर्दै हाल देशभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको बताए । सतहत्तर जिल्लामध्ये ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा १६ हजार कैदीबन्दी अट्ने क्षमता भए पनि हाल ३० हजारभन्दा बढी कैदीबन्दी राखिएको उनले उल्लेख गरे ।

उनले महिलासँगै पाँच वर्षमुनिका ४२ जना आश्रित बालबालिका कारागारमा रहेको बताए । उनले तीस हजार कैदीका लागि मासिक रु १७ करोडभन्दा बढी खर्च हुने गरेको समेत उल्लेख गरे । सांसद ढकालले बालसुधार गृहमा भएको झडपमा ४९ जना घाइते भएकाले १८ वर्षभन्दा माथिकालाई बालसुधार गृहमा राख्नु नहुनेमा जोड दिए ।

सांसद दीपा शर्माले १० देखि ३० वर्षसम्मकालाई एकै ठाउँमा राख्दा बालसुधार गृहमा गत शुक्रबार राति घटना घटेको बताइन् । उक्त समस्या समाधानका लागि कानुनमा सुधार जरुरी रहेको उनको भनाइ थियो । उनले १८ वर्ष माथिकालाई सुधारगृहबाट कारागारमा पठाउन उनले माग गरिन् ।

सांसद शान्ति श्रेष्ठले उक्त बालसुधार केन्द्रमा विद्यार्थीले घर जलाएको बताइन् । सुधारगृहमा बालबालिकामात्र राख्नुपर्ने उल्लेख गर्दै उनले १८ वर्षभन्दा बढी उमेरका बालबालिकासँग सुधार गृहमा राख्न नहुने बताइन् । उनले सुधारगृहमा रहेका बालबालिका लागू औषधि लिन बाहिर गएको खबर पनि सार्वजनिक भएको समेत उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट