
विराटनगर । विराटनगर वडा नम्बर १५ की प्रमिला डंगोलको २०७६ अगाडि रेडिमेट सामानको पसल थियो । पसल सञ्चालन गरिरहेकी उनलाई त्यही पसलबाट जीविका चलिरहेको थियो ।
२०७६ मा कोरोना कहर सुरु भयो । उनको पसल बन्द गर्नुपर्ने भयो । पसल गरेर त्यहीबाट आएको आम्दानीले घरखर्च धानिरहेकी डंगोललाई पसल बन्द गरेपछि कसरी घरखर्च चलाउनु भन्ने चिन्ताले पिरोल्न थाल्यो । फुर्सदको समयलाई समुपयोग गर्दै पयाउनी बेला बेलामा युट्युव हेर्न थालिन् ।
युट्युव हेर्दै जाँदा उनी गीत र टेलिफिल्म मात्र हैन, सीप कसरी सिक्न सकिन्छ भनेर खोज्न थालिन् । यसैक्रममा उनी हाते सिपको बारेमा हेर्न र बुझ्न थालिन । नियमित युट्युव हेर्दै डंगोलले धागो लिएर कुरुष चलाउन थालिन् ।
उनले झोला, ब्याग लगायत विभिन्न हाते सामग्री बनाउन थालिन् । एक दुई वटा बच्चाको टोपी तथा विभिन्न खाले कपडा बुनेर उनले फेसबुकमा राखिन् । फेसबुकमा राखेको केही समयमा नै अडर आएपछि उनले व्यवसायीक रुपमा अगाडि बढाउने निधो गरिन् । र, सोही बेलादेखि सुरु भयो उनको हस्तकलाको व्यवसायीक यात्रा ।
युट्युवमा हेरेर सिकेको सीपले विस्तारै व्यवसायिक रुप लिन थालेपछि उनलाई आनन्द लाग्न थाल्यो । पसल बन्द गरेर बस्नुपरेको चिन्ता हट्यो । सामाजिक सञ्जालबाट अडरहरु आउन थाले । उनले एक्लैले अडर धान्न नभ्याउने भएपछि गाउँका एक दुई जना महिला दिदीबहिनीलाई आफ्नो कामको बारेमा भनिन् । घरको काम भ्याएर फुर्सदको समयमा गर्न सकिने काम भएकाले पनि गाउँका दिदीबहिनीले आफू पनि गर्ने ईच्छा व्यक्त गरे ।
कोरोना कहर । फुर्सदको समय । विराटनगर १५ का १०-११ जना महिला दिदीबहिनीले आम्दानीको गजब्बको मेलो बनाए । ११ जना महिला दिदीबहिनी जम्मा भए । एक अर्काको सीप आदानप्रदान गरे । जसलाई जे आउँछ त्यही बनाउन थाले । आफूले बनाएको चिज सामाजिक सञ्जालमा राख्दै विक्री गर्न थाले ।
छोटो समयमा व्यवसायिक रुपमा काम गर्न पाएको र वरपरका दिदीबहिनीलाई थोरै भएपनि आयआर्जनको बाटो देखाउन पाएकोमा डंगोल खुसी छिन् ।
अहिले पनि प्रमिला हस्तकलामा ११ जना दिदीबहिनी छन् । सबैले आ-आफ्नो फेसबुक पेजबाट उत्पादित सामानको प्रचार गर्छन् । अडर लिन्छन् । घरको काम सकेर फुर्सदको समयलाई सदुपयोग गरेर पनि राम्रो आम्दानी गरिरहेको डंगोलले जानकारी दिईन् ।
विशेषगरी महिलाहरुले प्रयोग गर्ने साईड ब्याग, चप्पल, माला, बच्चाले लगाउने टोपी, हेडिविन, घाँगर, मोजा, कृस्टलका सामाग्रीहरु लगायतका सामानहरु ब्नाउने गरेको उनले बताईन् ।
उत्पादित सामानहरु विशेषगरी हङ्कङ, अष्ट्रेलिया, जापान लगायतका देशमा रहेका नेपालीहरुले नै बढी अडर गर्ने गरेको डंगोलले बताईन् ।
पछिल्लो समयमा विराटनगर लगायत आसपासमा लाग्ने मेला महोत्सवमा पनि उत्पादित सामानहरुको स्टल राख्ने गरेको बताउँदै डंगोलले बजारीकरणमा सहज भएको बताईन् । अहिले उनी घरेलु तथा साना उद्योग महासंघ, वुमन मोरङ च्याप्टरको सदस्य रहेकी उनी विभिन्न साना उद्यमी संस्थाहरुमा आवद्ध भएर काम गरिरहेकी छिन् । संस्थामा रहेर काम गर्दा उत्पादित बस्तुहरुको प्रचार प्रसारसँगै बजारीकरणमा सजिलो हुने उनको अनुभव छ ।
पछिल्लो समयमा नबिल बैंकले महेन्द्र मोरङ क्याम्पससँग मिलेर गरेको कार्यक्रम नबिल सामाजिक उद्यमशिलता ‘नबिल एसएसई’ मा सहभागि भएपछि आफ्नै समुदायमा बसेर काम गर्न सकिन्छ भन्ने अनुभव भएको उनले बताईन् ।
यस्ता कार्यक्रमले उद्यमशिलताको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उनले आफ्नो उद्यमलाई दिगो रुपमा कसरी अगाडि बढाउने, समाजलाई समेत कसरी लाभान्वित गराउने र विभिन्न चुनौतिहरु क्सरी पार गर्दै अघि बढ्ने लगायतका कुराहरु सिकेको बताईन् ।
उद्यमी डंगोलले समुदायका दिदीबहिनी र गृहिणीहरुलाई सशक्त पार्दै उनीहरुलाई आर्थिक रुपमा बलियो बनाउने तथा रोजगारी सिर्जना गर्ने आफ्नो उदेश्य रहेको बताईन् । ‘मेरो मिशन सिपलाई दिगो अभ्यास प्रवद्र्धन गर्दै स्थानीय स्रोतसाधनबाट वातावरणमैत्री हस्तकला उत्पादन गर्ने स्थायी धरोहर निर्माण गर्नु हो’, उनले भनिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend