
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
जनता समाजवादी पार्टी (जसपा), सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा लिखित ‘ऐतिहासिक नेपालमण्डल, सङ्घवादया सिद्धान्त व नेवाः म्हसीका’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले पूर्णसमानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली नभएसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले स्थायित्व र सुशासन दिन नसक्ने बताए ।
“अहिलेका घटनाक्रमले यसलाई पुष्टि गरिरहेको छ । देशमा जस्तो राजनीतिक घटनाक्रम देखा पर्दैछ, यसले शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूल नबनाउँदासम्म यस्ता राजनीतिक घटनाक्रम बारम्बार आइरहने छन्”, अध्यक्ष दाहालले भने ।
सांसदहरू मध्येबाटै मन्त्रिमण्डल बनाउने प्रणालीले विभिन्न विकृति निम्त्याइरहेको र भ्रष्टाचार संस्थागत हुँदै जाने अवस्था देखिएको उनको भनाइ छ । अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली भएमात्रै राजनीतिक स्थायित्वसँगै जनताको आकाङ्क्षा सम्बोधन हुने जिकिर गरे ।
उनले नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरी सरकारी दस्ताबेजमा उल्लेख गर्ने र नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगको निर्णय गरेर नेवाः पहिचानलाई अगाडि बढाइएको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend