२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छ : ऊर्जामन्त्री खड्का

शनिवार , चैत्र ८, २०८१

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेर गएको बताएका छन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजना तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको सहकार्यमा आजदेखि सुरु भएको ‘प्रथम राष्ट्रिय पानी सम्मेलन–२०८१’को आज यहाँ उद्घाटन गर्दै उनले पानीको स्रोतको उचित उपयोगमा जोड दिए ।

सरकारले पानीको संरक्षणसँगै पानीबाट सिर्जित चुनौतीको व्यवस्थापनलाई सँगसँगै अगाडि बढाइरहेको उनले बताए । मन्त्री खड्काले पानी र यसका स्रोतको संरक्षणमा सबै नागरिक सक्रिय हुनुपर्छ भने ।

मन्त्री खड्काले नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी तीन वटै तहलाई जलस्रोतको समुचित प्रयोग र संरक्षणको जिम्मेवारी दिएको तथा राष्ट्रिय जलस्रोत नीति–२०७७ ले मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि अधिकतम उपयोगमा जोड दिएको बताए । हिमालय पर्वत शृङ्खलाबाट उत्पन्न नदी तथा हिमनदीले देशको ऊर्जा, कृषि, पर्यटन र जैविक विविधताको आधार निर्माण गरेको मन्त्री खड्काको भनाइ थियो ।

जलवायु परिवर्तनका असरलाई घटाउँदै जलस्रोतको दिगो उपयोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

आइतबार समापन हुने सम्मेलनमा हिमनदीको संरक्षण, एकीकृत जलस्रोत व्यवस्थापन, जल सुशासन र जनसहभागिता, अन्तरदेशीय सहकार्य, वृहत आयोजनाबाट हुनुपर्ने सेवा प्रवाह, जलस्रोतको बहुउपयोग र जलवायु परिवर्तन, कृषि उत्पादकत्व, खानेपानी र सरसफाइ, जलस्रोतको उपयोग गरी समृद्धि हासिल गर्ने, समावेशी विकासका लागि जल प्रशासन र नीतिगत सुधारमा विविध विषयमा छलफल हुने आयोगका सचिव मधुप्रसाद भेटुवालले जानकारी दिए ।

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, सदस्य डा आरपी विच्छा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी, राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घका अध्यक्ष शम्भु दुलालले जलसंरक्षणको महत्वबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार