
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मौलिक संस्कृति र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी निर्माण हुने चलचित्रलाई सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने बताएका छन् ।
आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आज उनले सांस्कृतिक र पर्यटन प्रवर्द्धन हुने गरी चलचित्र निर्माण गर्ने योजना लिएर आए मन्त्रालयले सहयोग र सहजीकरण गर्ने बताएका हुन् ।
गुणस्तरीय चलचित्र निर्माण गर्न सकेको अवस्थामा विदेशीभन्दा स्वदेशी चलचित्रप्रतिको दर्शकको आकर्षण बढी हुने भन्दै मन्त्री पाण्डेले चलचित्र उद्योग भौतिक र अभौतिक सुन्दरता बोक्नेतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।
“चलचित्र बनाउने विषय निर्माताको विषय मात्रै होइन, एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक र कलाकारसहित समग्र मुलुकले त्यसबाट फाइदा लिनसक्छ । निराशाको बढी प्रचार भइरहेका बेला आशाको सञ्चार गर्न पनि चलचित्र प्रभावकारी माध्यम बन्नसक्छ । यसतर्फ ध्यान दिन आवश्यक छ”, उनको भनाइ थियो ।
मन्त्रालयअन्तर्गतका आठ वटा धरोहर विश्वसम्पदा सूचीमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसलाई समेटेर चलचित्र उद्योगी अघि बढेको अवस्थामा मन्त्रालयको पनि सहयोग रहने धारणा राखे ।
“यसबाट नेपालले पर्यटन क्षेत्रबाट लाभ लिनसक्छ । चलचित्रकर्मीले विगतका विषयवस्तु र साँघुरो मानसिकताभन्दा माथि उठेर विश्वव्यापीकरणको सोच राख्नुपर्ने आवश्यकता छ । स्वदेशमा लगानी गर्न आउने उद्योगीलाई सहज वातावरण बनाउनुपर्छ । नेपाली चलचित्र बाहिर खिच्नुपर्ने अभ्यासलाई निरुत्साहित गर्नुपर्छ”, उनले भने ।
मन्त्री पाण्डेले राष्ट्रिय एकता, सहिष्णुता, धार्मिक एकतासहितको सन्देशसमेत चलचित्रले दिने भएकाले यस क्षेत्रको प्रवर्द्धन गर्न सरकारले काम गरिरहेको बताए । चलचित्रकै माध्यमबाट सांस्कृतिक स्थलहरू पशुपति, लुम्बिनी, जनकपुरजस्ता क्षेत्रको विश्वमा प्रवर्द्धन गर्न सकिने उनको भनाई थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend