२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

लोकतन्त्र आएपछि जनताले सोचेजस्तो छिटो काम नभएको पक्कै हो : गृहमन्त्री 

बुधवार , चैत्र १२, २०८१

भक्तपुर । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्तिपछि सरकारले देशमा धेरै कामहरु गरेको भए पनि केही पनि गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् ।

भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुणयन्त्र कार्यालय भवनको उद्घाटन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्र प्राप्तपछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरी भाष्य निर्माण गर्नु गलत भएको बताए ।

गृहमन्त्री लेखकले भने, ‘तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनुभएको छैन भन्ने मलाई विश्वास छ । प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चारमाध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिङ्गो प्रेस जगत् र जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यवस्था चाहिँदैन भनेर नेपाली जनताले भन्न सक्नुहुन्न ।’

गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन भन्दै उनले भने, ‘केही हुँदै नभएको, केही गर्दै नगरेको भन्ने होइन, धेरै काम भएका छन् । तर जनताले सोचेजस्तो छिटो काम नभएको पक्कै हो । मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्, त्यसलाई हल गर्दै अगाडि जाने व्यवस्था लोकतन्त्र मात्रै हो ।’

विभिन्न चुनौती र समस्याका बाबजुत धेरै काम भएका उल्लेख गर्दै गृहमन्त्री लेखकले एकतन्त्रीय व्यवस्थाले जनताको आवाज, सञ्चारको आवाज कुल्चिन्छ तथा लोकतन्त्रले जनता र सञ्चारको आवाजलाई सुनेर समृद्धिको यात्रामा अगाडि बढ्ने बताए ।

गृहमन्त्री लेखकले भने, ‘जनताको स्वतन्त्रता, भावना, आवाज बन्द गर्ने निरङ्कुशताको शासन हामीले व्यहोरी सकेका छौँ, जनताले बलिदानी दिएर ल्याएको लोकतन्त्रलाई बिर्सिएर फेरि त्यही व्यवस्था चाहियो भनेर जनताले भन्छन् भनेर विश्वास गर्न सकिन्न, यो त केही तत्वहरुले भ्रम फैलाइरहेका मात्रै हुन्, यो भ्रम पनि केही दिनमै सकिन्छ। ‘

भ्रमको खेतीले जनता अब खोला, खोल्सीमा अल्झिन्छन् भन्ने आफूलाई नलागेको उल्लेख गर्दै उनले लोकतन्त्र भएमात्रै स्वच्छ पत्रकारिता, स्वतन्त्रता, सञ्चार जगत्, जनताको आवाज रहन्छ भन्ने सञ्चार जगत्ले पनि बुझेको बताए । जुनसुकै विपत्तिमा पनि प्रतिकार्यका लागि २४सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिँदै उनले जुद्ध बारुणयन्त्र गृहमन्त्रालयअन्तर्गत नै रहेकाले मन्त्रालयले जग्गा सम्झौताको म्याद थप गर्न मात्रै नभई नाममै जग्गा ल्याउन लागिपरेको बताउनुभयो । एकैछिनको ढिलासुस्ती र हेलचेक्य्राइँले जनधनको क्षति हुनदिन हुँदैन भन्दै गृहमन्त्री लेखकले दमकल थप गर्न स्थानीय तहहरुले पनि सहयोग गर्नुपर्ने औँल्याए ।

सेनाको नाममा स्थापनाकालदेखि दमकल रहेको जग्गा पछि नेपाली सेनाको नाममा गएको र नयाँ भवन निर्माणका क्रममा सेनासँग ३० वर्षका लागि भाडामा लिएको विषयमा चिन्ता नगर्न आग्रह गर्दै गृहमन्त्री लेखकले गृहमन्त्रालयको दमकल र नेपाली सेनाको नाममा रहेको जग्गा दुवै सरकारको भएकाले यसमा चिन्ता नगर्न आग्रह गरे ।

पुराना दमकललाई भक्तपुरमै सङ्ग्रहालयका रुपमा विकास गर्ने प्रस्ताव राम्रो भएको उल्लेख गर्दै उनले भने, ‘करी सङ्ग्रहालय बनाउने हो, त्यो सबै अवधारणा अगाडि बढाउनुस्, योजना ल्याउनुस्, हामीसँग भएका पुराना दमकल राखेर सङ्ग्रहालय बनाउन सकिन्छ, मन्त्रालयले आवश्यक सहयोग गर्छ ।’

कार्यक्रममा गृहमन्त्री लेखकले रासस भक्तपुरका समाचारदाता रमेश गिरीलाई सम्मानपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरे । उनले पत्रकारहरु पेशल आचार्य, पुष्करराज बुढाथोकी र लीला श्रेष्ठ, सहयोगी विभिन्न संस्था, पूर्वकर्मचारी र उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार