
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको ‘विशेष बैठक’ आज बस्दै छ ।
वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, केन्द्रीय समिति बैठक दुई चरणमा बस्नेछ । ‘पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बस्नेछ । सोही बैठकले सभापतिमा रवि लामिछानेलाई जिम्मेवारी तोक्ने निर्णय गर्नेछ,’ झाले भने, ‘दोस्रो चरणमा लामिछानेकै सभापतित्वमा बैठक बस्नेछ ।’
पहिलो बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालबाट धन्यवाद ज्ञापन गरिनेछ । त्यसपछि सभापति रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक बस्नेछ ।
नेतृत्व छाडेको साढे ५ महिनापछि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्कन लागेका छन्
गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा रवि पक्राउ परेका थिए । काठमाडौं, कास्की, रुपन्देही र चितवनमा धरौटी बुझाएर रिहा भएका रविको पर्सामा भने मुद्दा दर्ता हुनै बाँकी छ ।
रवि पक्राउ परेपछि ०८१ पुस ८ गते पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिइएको थियो ।
आज बस्ने रास्वपा दोस्रो बैठकका यी हुन् छलफलका विषय–
१. पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ
२. लिडरसिप एकेडेमीको फ्लो चार्ट सम्बन्धमा
३. जनयात्रा कार्यक्रमबारे
४. पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस
५. अधिवेशनरमहाधिवेशन कार्यतालिका
६. विविध
(क) मुस्लिम समुदायको महान् चाड इदको शुभकामना आदानप्रदान ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend