काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेको बर्ताएका छन
सोमवार काठमाडौंमा पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले इतिहास भइसकेको राजालाई ब्युँताउने कोशिस भइरहेको भएपनि सम्भव नरहेको जिकिर गरे । उनले पूर्वराजा शाहले के त्याग, तपस्या, योगदान गरेका छन् भन्दै प्रश्न गरे । इतिहास फेरि पछाडि फर्किन नसक्ने अध्यक्ष नेपालको भनाइ छ । नेपाली समाज सामन्तवादको युगमा फर्किन नसक्ने बताए ।
अध्यक्ष नेपालले भने, ‘हाम्रो देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेका छन् । इतिहास भइसकेको राजालाई फेरि ब्युँताउने कोशिस गरिरहेका छन् । जो सम्भव छैन । के त्याग गरेको हुनाले, के तपस्या गरेको हुनाले, के योगदान गरेको हुनाले देश निर्माणमा के भुमिका खेलेको हुनाले, दमन गरेको हुनाले निरंकुशता लादेको हुनाले वंशको शासन चलाएको हुनाले, देशलाई गरिबी, बेरोजगारमा पिल्साएको हुनाले के कारणले राम्रो काम गरेको त देखिँदैन । नराम्रो काम गर्नेलाई पुरस्कृत गर्नेकुरा अस्वीकार्य हुन्छ । कसैको भ्रममा नपर्नुस्, सत्य र तथ्यको कुरा बुझ्नुस् । इतिहास फेरि पछाडि फर्किन सक्दैन । अब संसार र नेपाली समाज सामन्तवादको युगमा फर्किन सक्दैन । कुनै परिवारको कोही दास बन्न चाहँदैन । कुनै परिवारको देशलाई पेवा गर्न चाहँदैन ।’
अध्यक्ष नेपालले जनताका छोराछोरी देशको राष्ट्रपति बन्न पाउने की नपाउने भन्दै प्रश्न समेत गरे ।
प्रतिक्रिया दिनुहोस