२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

जनताका कुरा सुन्न जागरण अभियान : प्रचण्ड

बिहिवार , चैत्र २०, २०८१

बाँके । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान पुनः थालिएको बताएका छन् ।

अभियानअन्तर्गत माओवादी केन्द्र बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको नागरिक अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले विगतमा जनताको भावना बुझ्न नसकेकाले अहिले भूगोलमै पार्टी नेतृत्व खटिएको उल्लेख गरे ।

“विगतमा नेता कार्यकर्ताको घेराबन्दीमा परेर गल्ती गरियो, अब हामी नेता कार्यकर्ताको रिपोर्टमा भर पर्दैनौँ, सिधै जनताका कुरा सुन्न आएका छौँ”, उनले भने “हामी सच्चिन तयार छौँ, सच्चिन्छौँ र जनतासँगको सम्बन्ध सुदृढ बनाउँछौँ ।”

हुलाकी राजमार्ग छेउछाउ सिमाना नजिक बस्ने नागरिकको अवस्था र भावना बुझ्न जनताको घरघरमा आफूहरु पुग्ने गरेको अध्यक्ष दाहालको भनाइ थियो । उनले भने, “जनताकै घरमा बसेर जनताका कुरा सुन्न चाहेका छौँ ।”

राजनीतिक दल र नेताको आचरणले गर्दा जनतामा असन्तुष्टि बढ्दै गएका कारण प्रतिगमनले टाउको उठाएको उल्लेख गर्दै अध्यक्ष दाहालले योभन्दा परिस्थिति बिग्रिए मुलुकमा ठूलो दुर्घटना हुने भएकाले सबै गणतन्त्रवादी जिम्मेवार भएर लाग्न जरुरी भएको बताए ।

“राजावादीको चरित्र जे थियो त्यो चैत १५ गते देखियो । हामीले शालिन तरिकाले जवाफ दियौँ”, उनले भने, “प्रतिगमनविरुद्ध अभियान छेडेर प्रतीकार गर्यौँ।”

माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको नागरिक अन्तरसंवाद कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामी, पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र अब्दुल वाहिद मन्सुरी, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणी आचार्य, अधिकारकर्मी भोला महत, जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्मा, पत्रकारहरु जे पाण्डे, झलक गैरे, शरण कर्माचार्य लगायतले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले राजनीतिक दल र नेता सच्चिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्षत्रय नारायणकाजी श्रेष्ठ, अग्नीप्रसाद सापकोटा र कृष्णबहादुर महरा, महासचिव देव गुरुङलगायत केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट