२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

१० बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय फायर सेफ्टी सम्मेलन

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ आज काठमाडौँमा सम्पन्न भएको छ। एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन नेपालद्वारा आयोजित यो सम्मेलनमा १४ अन्तर्राष्ट्रिय देशहरूका विज्ञहरूको सहभागिता रहेको थियो।

सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण र व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र तालिमप्राप्त जनशक्तिको खाँचो रहेको उल्लेख गरेका थिए । उनले दमकल बाहेक अन्य वैकल्पिक उपायहरूको विकासमा सरकारले गम्भीरता देखाइरहेको र डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको बताएका थिए ।

सम्मेलनका प्रमुख सन्देशहरू घोषणा पत्र मार्फत सार्वजनिक गरिएको छ। घोषणापत्रमा सार्वजनिक चेतनाको अभिवृद्धि, भवन कोडको आधुनिकीकरण, डढेलो तथा शहरी वन डढेलोको जोखिम न्युनिकरण, ड्रोन प्रयोगको मापदण्ड, कृत्रिम बुद्धिमत्ताको जिम्मेवार उपयोग, विद्युतीय सवारीसाधनमा आगलागीको व्यवस्थापन, सुरक्षासम्बन्धी उत्पादनका मापदण्ड, शैक्षिक पाठ्यक्रममा सुरक्षाको समावेश र क्षेत्रीय सहकार्य जस्ता १० प्रमुख बुँदामा प्रतिबद्धता जनाइएको छ।

अस्पा नेपालका अध्यक्ष सुनिल कुमार श्रेष्ठले सम्मेलनमा उठेका विचार, सिफारिसहरू र प्रविधिमूलक समाधानहरूलाई सम्बन्धित सरकारी निकायहरू समक्ष प्रस्तुत गर्दै नीतिगत सुधारको दिशामा सहकार्य गर्ने प्रतिवद्धता जनाए। उनले आगलागी सुरक्षा र विद्युतीय सुरक्षालाई केवल प्राविधिक विषय मात्र नभई जनताको जीवन, पूर्वतयारी र समग्र सुरक्षासँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताए।

सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, साथै देशभरका स्थानीय तहका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अग्रणी व्यक्तित्वहरू, तथा विद्युत सुरक्षा र आगलागीका विज्ञहरू सहभागी थिए। साथै भारत, चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, मलेसिया, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, श्रीलङ्का, हङकङ, मकाउ, फिलिपिन्स लगायतका देशहरूका विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनका क्रममा अन्तरक्रियात्मक सत्रहरू, प्रविधि प्रदर्शनीहरू तथा अन्तर्राष्ट्रिय अनुभव साटासाट कार्यक्रमहरू सञ्चालन गरिएको थियो । सहभागीहरूले आधुनिक प्रविधि, सुरक्षासम्बन्धी वैश्विक अभ्यासहरू र भविष्यका लागि आवश्यक रणनीतिहरूमा विस्तृत छलफल गरेका थिए ।

सम्मेलनले सम्पूर्ण सरोकारवालालाई एक साझा मञ्चमा ल्याएर आगलागी तथा विद्युतीय सुरक्षासम्बन्धी दिगो समाधानका लागि दीर्घकालीन कार्ययोजना निर्माण गर्न सहयोग पुर्‍याएको स्पष्ट संकेत दिएको छ। घोषणापत्रमार्फत सहभागीहरूले एक सुरक्षित, सचेत र प्रविधिसम्पन्न समाज निर्माणमा सहकार्य गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट