२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति

आइतवार , आषाढ २१, २०८३

म्याग्दी । म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड स्तरोन्नति सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित म्याग्दीको रणनीतिक महत्वको तथा प्राथमिकताप्राप्त सडक आयोजना हो।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा हेरिएको बेनी-दरबाङ-धारापानी-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडासम्मको छ किलोमिटर सडकमा ढलान, कालोपत्र र ग्राभेलको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँले अन्तिम भुक्तानी र सामान्य मर्मतबाहेक योजनाका सबै काम सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार योजना निर्धारित समयमै सम्पन्न भएको हो।

वि.सं. २०८१ जेठ २० गते रामसागर विके–एसकेबिएस धौलागिरि जेभीसँग रु १४ करोड ६१ लाखमा ठेक्का सम्झौता भएको थियो । गौथली भिरलगायत स्थानमा एक हजार ७०० मिटर सडक ढलान गरिएको छ । सडकलाई आठ मिटर चौडा बनाइनुका साथै नाली र टेवा पर्खाल निर्माण गरिएको छ । यसअघि उक्त सडक चारदेखि पाँच मिटर मात्र चौडा थियो।

धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले हाल ग्राभेल मात्र रहेको तीन किलोमिटरभन्दा बढी सडकलाई पनि कालोपत्र गर्न प्रदेश सरकारसँग पहल भइरहेको बताए। उनले भने, “मार्ग खुलेको १८ वर्षपछि भए पनि सडक स्तरोन्नति हुनु हाम्रो वडाका लागि सकारात्मक उपलब्धि हो। बजेट अभावका कारण कालोपत्र हुन नसकेको खण्डलाई पनि कालोपत्र गराउन प्रदेश सरकारसँग पहल गरेका छौँ।”

धारापानीमा वि.सं. २०६६ मा सडक पुगेको थियो। यो सडक धवलागिरि गाउँपालिकाका पाँच वडाका बासिन्दाको प्रमुख आवागमन मार्ग हो । यसै सडक आयोजनाअन्तर्गत दरबाङ–धारापानी (सात किलोमिटर) र मच्छिम-मुना (चार किलोमिटर) खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र तथा ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भई अर्को योजना निर्माणाधीन रहेको म्याग्दी निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए।

उनका अनुसार वि.सं. २०८२ असारमा सम्झौता भएको उक्त योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीका मङ्गला मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवतजावत गर्दा करिब ७० किलोमिटर दूरी छोटिने भएकाले यस सडकलाई रणनीतिक महत्वको मानिएको उनले बताए।

धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि खोरिया, मरेनी, जलजला र ढोरपाटन हुँदै पूर्वी रुकुमको तकसेरासम्म जोड्ने सडक गत फागुनमा सञ्चालनमा आएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट