शनिबार, कार्तिक २२ २०८२

शनिबार, कार्तिक २२ २०८२

युवालाई राजनीति र निर्णय गर्ने भूमिकामा ल्याउनुपर्छ : सांसद गौतम

युवालाई राजनीति र निर्णय गर्ने भूमिकामा ल्याउनुपर्छ : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले धेरै भन्दा धेरै युवाहरूलाई राजनीतिमा, संसदहरुमा र निर्णय गर्ने भूमिकाहरुमा ल्याउनु पर्ने बताएकी छन् ।

उज्बेकिस्तानको राजधानी तासकन्दमा आजोजना भइरहेको अन्तर व्यवस्थापिका संघको १५० औं महासभालाई सम्बोधन गर्दै सांसद गौतमले युवाहरुलाई नेतृत्व गर्न दिँदा छिटो परिणाम ल्याउन सकिने बताइन् । उनले भनिन्- ‘अझ धेरै युवाहरुलाई राजनीतिमा, संसदहरुमा र निर्णय गर्ने भूमिकाहरुमा ल्याऔं। जब युवाहरू नेतृत्व गर्छन्, उनीहरूले नयाँ ऊर्जा, साहसी सोच र संसारलाई आज चाहिएको छिटो परिणाम ल्याउँछन्।’

उनले परिवर्तनका लागि युवाहरुले अब दशकौं नपर्खँने समेत बताइन् । उनले युवाहरु आफैंले परिवर्तन ल्याउन चाहेको बताउँदै भनिन्- ‘यो त गतिको युग हो। अब युवाहरूले परिवर्तनका लागि दशकौं पर्खन चाहँदैनन्। हामी आफैं परिवर्तन ल्याउन चाहन्छौं। नवप्रवर्तन, साहस र विश्वव्यापी एकताका साथ हामी भत्केका प्रणालीहरूको उत्तराधिकारी बन्न होइन, ती प्रणालीहरूलाई नयाँ रूपमा पुनः निर्माण गर्न आएका हौं।’

उनले संसारको हरेक कुनामा न्याय र सामाजिक प्रगतिका लागि संघर्ष निरन्तर जारी रहेको उल्लेख गरिन् । उनले भनिन्- ‘हरेक समाजले आफ्नै जटिल इतिहासमा आधारित बहिष्करणको पुस्तौं पुरानो परम्परासँग जुधिरहेको छ। सांसदहरूका रूपमा हामीले यी संघर्षहरूलाई दूरदृष्टि, साहस, र समावेशिताप्रतिको अडिग प्रतिबद्धतासँग नेतृत्व गर्नु पर्दछ।’

जनताको आवाजलाई नीतिमा रूपान्तरण गर्नु र जनताको पीडालाई सुखमा बदल्नु नेताहरुको पवित्र दायित्व भएको उनको भनाई थियो । उनले नेपाल संविधान कार्यान्वयन गर्दै न्याय संस्थागत गर्ने दिशामा लागिरहेको जानकारी गराइन् । उनले भनिन्- ‘हामी विश्वास गर्छौं,हाम्रो संविधान एक प्रगतिशील, समावेशी र आशाप्रद दस्तावेज हो। तर, कानुन बनाउनु मात्रै पर्याप्त होइन। हामीले यस्तो राजनीतिक संस्कार निर्माण गर्नुपर्छ, जुन सहानुभूति, जवाफदेहिता र समावेशितामा आधारित हो-र जनताको चाहना र आकांक्षालाई साँचो रूपमा प्रतिबिम्बित गर्छ।’

उनले आजको समयमा विश्वका केही भूभागहरु युद्ध र विभाजनमा फँसिरहेको उल्लेख गर्दै युवाहरुले केबल शान्ति, एकता, र साझा मानवताको बाटो खोजेको बताइन् । उनले युवाहरूलाई नेतृत्व गर्न सशक्त बनाइएमा युद्ध पनि केवल इतिहास बन्न सक्ने बताइन् । उनले भनिन्- ‘हामी भविष्य निर्माणमा विश्वास गर्छौं, विनाशमा होइन। हामी यो पृथ्वीलाई केवल आफ्नै लागि होइन, आउने पुस्ताहरूका लागि पनि सुरक्षित राख्न चाहन्छौं। आउनुहोस्—शान्तिका लागि, जनताको लागि, र पृथ्वीका लागि नेतृत्व गरौं।’

 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend