२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नेपाल-भारतबीच व्यापार सहजीकरणका लागि वार्ता

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । नेपाल र भारतबीचको व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा वार्ता सुरु भएको छ ।

वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रीम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ्क प्रणाली लागू गर्नेलगायत विषय छन् ।

त्यस्तै, आयात निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टिन जाँच प्रणालीलाई थप सुदृढ गर्नेलगायतका विषयमा छलफल हुने भन्सार विभागका सूचना अधिकारी नारायण प्रसाद रेग्मीले बताए ।

छलफलमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणालीमार्फत विद्युतीय रुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधिन एकीकृत जाँच विन्दुलाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा पनि वार्ता हुनेछ ।

यही चैत्र २८ र २९ गते दुई दिनसम्म चल्ने वार्तामा नेपालको वार्ताटोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गरेका छन् भने भारतको तर्फबाट राजस्व इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभयकुमार श्रीवास्तवले गरेका छन् ।

नेपालको तर्फबाट वार्ता टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वाली क्वारेन्टिन विभागलगायतका निकायका उच्च अधिकारीहरूको सहभागिता छ ।

यसैगरी भारतीय टोलीमा राजस्व इन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रीय इकाईका सहायक महानिर्देशक, नेपालस्थित भारतिय दूतावासका प्रथम सचिव, कलकत्ता, पटना, लखनउ भन्सार कार्यालयका प्रमुखहरु लगायतका अधिकारीहरुको सहभागिता छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट