२०८३, श्रावण ११ गते

सोमवार, श्रावण ११ गते २०८३

सुनसरी गोलीकाण्डमा सरकारमाथि एमालेको प्रश्न : ‘नागरिकको ज्यानभन्दा ठूलो कुर्सी हुन सक्दैन’

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सुनसरीमा भएको गोलीकाण्डले राज्यको सुरक्षा संयन्त्र, गृह प्रशासन र सरकारको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

सुनौलो नेपाल अनलाइनसँग कुराकानी गर्दै आचार्यले तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन अन्य विकल्प हुँदाहुँदै गोली चलाउने निर्णय कसको निर्देशनमा भएको हो भन्ने विषयको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। उनले घटनापछि तल्लो तहका सुरक्षा अधिकारीको मात्रै सरुवा गरेर माथिल्लो नेतृत्व जिम्मेवारीबाट उम्किन नसक्ने बताए।

‘परिस्थितिलाई संयमित बनाउनुको सट्टा सिधै गोली चलाउने आदेश कसले दियो? यसको जवाफ सरकारले दिनुपर्छ ।’ उनले भने, ‘तल्लो तहका अधिकारीलाई मात्रै कारबाही गरेर माथिल्लो नेतृत्व चोखिन मिल्दैन। यस घटनाको पूर्ण राजनीतिक र नैतिक जिम्मेवारी गृह प्रशासन र स्वयं प्रधानमन्त्रीले लिनुपर्छ ।’

आचार्यले राज्यको पहिलो दायित्व नागरिकको जीवन रक्षामा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै, ‘नागरिकको ज्यानभन्दा ठूलो कुर्सी हुन सक्दैन,’ भने।

सुनसरीमा हालै प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने केही अन्य घाइते भएका थिए। घटनापछि सरकारले सम्बन्धित सुरक्षा अधिकारीको सरुवा गर्नुका साथै घटनाबारे छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ। तर घटनालाई लिएर विभिन्न राजनीतिक दल, अधिकारकर्मी र नागरिक समाजले निष्पक्ष अनुसन्धान तथा जिम्मेवार पक्षमाथि कारबाहीको माग गर्दै आएका छन्।

आचार्यले सरकार शान्ति–सुरक्षा कायम गर्न संवेदनशील बन्नुपर्ने र घटनालाई राजनीतिक विवादभन्दा माथि उठेर कानुनी तथा मानवीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने बताए। साथै, सामाजिक सद्भाव र जनविश्वास कायम राख्न सबै राजनीतिक दल, सुरक्षा निकाय र सरोकारवाला पक्षले संयमता अपनाउनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट