
वीरगन्ज, पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्ने प्रेरणा लिनुपर्ने बताएका छन् ।
जैन श्वेताम्बर तेरापन्थीसभा वीरगन्जले महावीर जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले अहिंसाको सत्मार्गलाई सबैले पालना गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
“मानवजाति पछिल्लो समय विभिन्न भागदौड र प्रतिस्पर्धामा जुटिरहेको अवस्था छ । यस्तो समयमा भगवान् महावीरका उपदेश उत्तिकै व्यावहारिक र सान्दर्भिक छन्”, मुख्यमन्त्री सिंले भने, “जैन संस्कृति र सभ्यतालाई नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजान जरुरी भइसकेको छ ।”
उनले अहिंसा र मानवतावाद नै अहिलेको आवश्यकता रहेको धारणा राखे । फरक प्रसङ्गमा मुख्यमन्त्री सिंहले पर्साको सिर्सिया नदीको प्रदूषणलाई स्थानीय र प्रदेश सरकारले हातेमालो गरेर स्वच्छ र हराभरा बनाउनुपर्ने धारणा राखे । “सिर्सिया नदी कुनै कालखण्डमा स्वच्छ र पवित्र नदी भएकाले यहाँ स्नान गरेमा पनि विभिन्न खालका रोगव्याधी निको हुने जनविश्वास रहेको थियो तर त्यस्तो रहेन, प्रदूषणका कारण निकै समस्या भएको छ । अब सबै मिलेर यसलाई सफा गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।”
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend