
गोरखा । नेपाल समाजवादी पार्टी नयाँ शक्ति का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा भएको बताएका छन् ।
बुधवार काठमाडौंमा नेपाली काँग्रेसका नेता एवं जिल्ला विकास समिति गोरखाका पूर्वसभापति स्व.चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति तथा ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले लोकतन्त्र नै प्रमुख कुरा रहेको बताए । उनले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एक अर्काका राम्रा गुणहरू सिक्दै र खराब गुणलाई त्यागेर अगाडी बढ्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न सकिने धारणा राखे । पछिल्लो समय प्रतिगामी तत्वहरू सलबलाउन खोजेको भन्दै अध्यक्ष डा.भट्टराईले राष्ट्र हितलाई केन्द्रमा राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रही सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए ।
डा.भट्टराईले भने, “लोकतन्त्र नै प्रमुख कुरा हो । उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र यी एउटै रुखका दुई वटा हाँगा हुन् । हामीले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एक अर्काका राम्रा गुणहरू सिक्ने, खराब गुणलाई त्याग्ने गरी अगाडी बढ्यौँ भने हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अगाडी जान सक्नेछौँ । अहिले विभिन्न ढङ्गले प्रतिगामी तत्त्वहरू सलबलाउन खोजेका छन् । यस्तो अवस्थामा हामीले राष्ट्र हितलाई केन्द्रमा राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अगाडी बढौँ ।”
अध्यक्ष डा.भट्टराईले आफू काँग्रेस र कम्युनिस्ट दुवै गुण भएको र अलि अगाडी बढेको मान्छे भएको जिकिरसमेत गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend