२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

कीर्तिपुरको होल्डिङ सेन्टर ५ दिनभित्र खाली गर्न अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार दिइने

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न निर्देशन दिएको छ। समितिले सोमबार एक सूचना जारी गर्दै आगामी शुक्रबारसम्ममा स्व: व्यवस्थापन गरी सेन्टर छोड्न भनेको हो।


हाल कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका कुल २०३ जना बस्दै आएका छन्। ती परिवारहरूलाई त्यहाँबाट हट्नका लागि प्रोत्साहन स्वरूप समितिले आर्थिक सहयोगको समेत घोषणा गरेको छ। प्रत्येक परिवारलाई स्व: व्यवस्थापनका लागि एकमुष्ठ २५ हजार रूपैयाँ उपलब्ध गराएर सेन्टर खाली गराउन लागिएको बागमती सभ्यताका सूचना अधिकारी टोपबहादुर बानियाँले जानकारी दिए।

सूचना अधिकारी बानियाँका अनुसार सुकुम्बासीहरूलाई सेन्टरबाट हटाउनुअघि नै उनीहरूको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको छ। "हामीले राहत प्राप्त गर्नका लागि खाता नम्बरसहितको निवेदन पेस गर्न भनिसकेका छौं," उनले भने, "खाता विवरण प्राप्त हुनासाथ २५ हजार रूपैयाँ पठाइनेछ र त्यसपछि उनीहरूले ५ दिनभित्र ठाउँ खाली गर्नुपर्नेछ।"
यति मात्र नभई, त्यहाँबाट हटेकाहरूमध्ये आगामी दिनमा सरकारी छानबिनबाट 'वास्तविक सुकुम्बासी' प्रमाणित भएका परिवारले मासिक १५ हजार रूपैयाँका दरले थप सहयोग पाउने समेत समितिले जनाएको छ।

विगतमा काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा उनीहरूलाई त्यहाँ राखिएको थियो। २०८३ वैशाख १२, १३, १८, १९ र २० गते चलेको अभियानका क्रममा विभिन्न नदी किनाराबाट २ हजार ६०८ जना विस्थापित भएका थिए। सरकारको निर्णयअनुसार उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो र अहिले स्व: व्यवस्थापनका लागि रकम दिएर विदा गर्न लागिएको हो।

समितिले पहिलो चरणमा कीर्तिपुरबाट यो प्रक्रिया सुरु गरेको छ। सूचना अधिकारी बानियाँका अनुसार सरकारको प्राथमिकता सबैलाई ससम्मान स्व: व्यवस्थापनमा लैजाने रहेको छ।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट