२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ: अध्यक्ष ढकाल

शुक्रवार , बैशाख १२, २०८२

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले लगानीमैत्री वातावरण सिर्जना नगरेसम्म लगानी नभित्रिने बताएका छन् ।

विराटनगरमा उद्योग वाणिज्य महासंघ कोसीले आयोजना गरेको प्रदेशको आर्थिक अवस्था, लगानीको सम्भावना र चुनौती बारेमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै ढकालले लगानी मैत्री वातावरण बनाउन सरकारसँग आग्रह समेत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले देशको आर्थिक अवस्था चलायमान बनाउनको लागि सरकारलाई सहयोग गर्नुका साथै नेपालमा लगानी भित्र्याउनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्दै आएको बताउँदै लगानीको वातावरण बन्ने वित्तिकै लगानीकर्ताहरु पनि भित्रिने अध्यक्ष ढकालले बताए । निजी क्षेत्रले लगानी गरिरहदा लगानीकर्ताहरू निरुत्साहित हुनुपर्ने अवस्था राज्यको तर्फबाट सिर्जना हुन नहुने उनको भनाई छ ।

अध्यक्ष ढकालले कोशी प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै लगानीको वातावरण बनाउन सरकारसँग आग्रह समेत गरेका छन् । कोसी प्रदेशमा कानुन परिवर्तन भएपनि बाह्य र आन्तरिक लगानी गर्न चाहने लगानीकर्ताहरू सुरक्षित हुनुपर्ने उनले बताए ।

‘निजी क्षेत्रको लगानी सुरक्षित नभएसम्म कुनै पनि सम्मेलनले रिजल्ट दिँदैन’, उनले भने, ‘कोसीमा हुन लागेको लगानी सम्मेलनबाट पनि लगानी गर्न इच्छुक लगानीकर्तालाई लगानीको सहज वातावरण बनाउने र लगानी सुरक्षित गर्दिने वातावरण सिर्जना गर्नु सरकारको दायित्व हो ।’

ताप्लेजुङमा केबुलकारमा लगानी गरेका ढकालले केबुलकारको विरोध गर्ने पहिचानवादीहरूले अहिले आएर काम बढाउन आग्रह गरेको बताए । ढकालले भने, ‘विरोध गर्ने पहिचानवादीहरू अहिले काम अगाडि बढाउनुपर्छ भनेर भनिरहनुभएको छ, यसलाई सकारात्मक रुपमा लिएको छु ।’

ताप्लेजुङमा पाथिभरा केबुलकार निर्माण हुनु नहुने भन्दै त्यसको विरोधमा लामो समयदेखि आन्दोलन हुँदै आएको छ । ढकालले भाषा, धर्म, रीतिरिवाज, संस्कार र संस्कृतिको संरक्षण गर्ने कुरामा आफू विश्वस्त रहेको समेत बताए । ‘आन्दोलनरत पक्षलाई म विश्वस्त दिलाउन चाहन्छु’, उनले भने, ‘कुनै पनि जातिको संस्कृति, भाषा, धर्म, रीतिरिवाजमा आँँच आउन दिने छैन, त्यसको सांस्कृतिक प्रवर्धन र संरक्षणको लागि बफादार भएर लाग्छौँ ।’ उनले कुनै पनि संस्कार संस्कृति र पहिचान लोप हुन नदिने र संरक्षण गर्ने प्रतिवद्वता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले विराटनगर र पूर्वसँग जोडिएको जुटको गौरवलाई बचाउने गरी लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए । कोशीको सुनसरी मोरङ औद्योगिक करिडोरलाई बचाउँदै आर्थिक समृद्धिको गति दिने गरी लगानी सम्मेलन अगाडि बढाउन आग्रह गरे ।

चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले चिया पर्यटनको सम्भावना कोशी प्रदेशमा धेरै रहेको बताए । उनले नेपालमा उत्पादन हुने चियाको ९८ प्रतिशत चिया कोशीमा उत्पादन हुने बताउँदै चियाबाट मात्र बर्षमा १० अर्ब कारोबार हुने गरेको बताए । ६ अर्ब बराबरको चिया विदेश निर्यात हुने गरेको उनले बताए । अध्यक्ष पराजुलीले प्रदेश सरकारले दिगो आय स्रोतको रुपमा चियालाई लिनुपर्नेमा जोड दिए ।

कोशी सरकारले लगानी सम्मेलन गर्दैगर्दा चिया पर्यटनलाई सँगसँगै लिएर जान सकिने उनको भनाई छ । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पर्यटन कृषि उद्योग र व्यापारको प्रचुर सम्भावना हेरेर लगानीको विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । लगानीकर्ता शैलेन्द्र गुरागाईले कोशी प्रदेशमा २५ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने दाबी गर्दै यसले प्रदेशलाई समृद्ध बनाउने बताए । सरकारको वार्षिक बजेट बराबरको ऊर्जा उत्पादन कोसी प्रदेशबाट मात्रै हुन सक्ने बताउँदै उनले यसतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगि व्यवसायी तथा प्रदेश सरकारका मन्त्री, सांसद लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट