काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लुटतन्त्रको विरुद्ध उठ्ने जनआवाजलाई दबाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले राज्य व्यवस्थाका विरुद्ध बोल्नेहरुका लागि तह लगाउने गरी नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताए । उनले भ्रष्टाचारको विरुद्धमा बोल्ने जनआवाज देखेर सरकार तर्सिएको बताए । उनले जनआवाज विरुद्धका आवाज निस्तेज पार्ने गरी नीति तथा कार्यक्रमको पेज नम्बर २ मा लिखित रुपमा ल्याइनु विडम्वना भएको बताए ।
उनले भने, ‘युवाहरुको रोजगारीको विषय वस्तुनै आएन । अहिले सबैभन्दा ठुलो समस्या यही भयो । र विशेष गरेर आन्तरिक सुरक्षाका कुरा, रोजगारीका कुरा आउनुपथ्र्यो यतिबेला केही पनि आएन । हुबहु छ, सुगा रटाइ छ । सिधा भाषामा भन्दा पुरानै ढर्रामा भएको कागजको खोस्टा जस्तो छ । सरकारले यो वर्ष नयाँ एउटा कुरा चाहीँ ल्याएको रहेछ । जब यो व्यवस्था र लुटतन्त्रविरुद्ध बोल्नेहरुलाई तह लगाउने व्यवस्था नेपालको नीति तथा कार्यक्रममा अहिलेसम्म इतिहासमा आएको छैन, त्यो पहिलो पटक आएको छ । त्यसैले म भन्छु अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिन्छ भन्या जस्तो सरकार तर्सिएको देखियो । किन भने लुटतन्त्रको विरुद्धमा जनआवाजलाई दबाउनका लागि नीति तथा कार्यक्रममा ल्याएको छ ।’
‘भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न नयाँ नियम बनेर आएको छ । यो चाहिँ विल्कुनै नयाँ हो । किनभने भ्रष्टाचारको विरुद्धमा जनताले आवाज उठाउने कुरालाई पनि निस्तेज पार्ने भनेर २ नम्बर पेजमा लेखेर राखिएको छ । त्यो चाहिँ नीति तथा कार्यक्रममा नआउनु पर्ने कुरा, तर विडम्बनाका साथ भन्नुपर्छ राष्ट्रपतिलाई जानकारी बिना प्रधानमन्त्रीले पढ्न लगाए’ उनले भने ।
प्रवक्ता शाहीले नीति तथा कार्यक्रम टोले गुण्डाहरुको चन्दा उठाउनका लागि गरिएको सम्झौताको खोस्टो जस्तो भएको आरोप लगाए । उनले नीति तथा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले संशोधन हाल्ने बताए ।
प्रतिक्रिया दिनुहोस