काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रियाका लागि उम्मेदवारका प्रस्तावक र समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ। आयोगले जारी गरेको सूचनाअनुसार महाधिवेशनमा शीर्ष नेतृत्व र केन्द्रीय समितिका लागि उम्मेदवारी दिने नेताहरूले प्रस्तावक र समर्थकको कडा नियम पालना गर्नुपर्नेछ ।
नयाँ व्यवस्थाअनुसार रास्वपाको सभापति पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। त्यस्तै, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका आकांक्षी उम्मेदवारका लागि भने एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ ।
आयोगले उम्मेदवारी दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन प्रस्तावक र समर्थकको हकमा केही प्राविधिक नियमहरू समेत लागू गरेको छ । सूचनाअनुसार कुनै पनि प्रस्तावकले एकभन्दा बढी उम्मेदवारको फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न पाउने छैनन् । तर, समर्थकका हकमा भने यो नियम लागू हुने छैन र उनीहरूले एकभन्दा बढी उम्मेदवारको पक्षमा हस्ताक्षर गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसैगरी, उम्मेदवारको प्रस्तावक वा समर्थक बन्ने व्यक्ति महाधिवेशन प्रतिनिधिको सूचीमा अनिवार्य रूपमा समावेश भएको हुनुपर्ने प्रावधान राखिएको छ। साथै, प्रस्तावक वा समर्थक बनेको व्यक्ति स्वयं सोही पदको निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था आयोगले गरेको छ । निर्वाचन आयोगले सूचनामा उल्लिखित मापदण्ड विपरीत दर्ता भएका उम्मेदवारी फारमहरू स्वतः अमान्य हुने चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस