काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी शक्तिको षड्यन्त्रलाई जनताले परास्त गरेको दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चाको वागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उनले यस्तो दाबी गरेका हन् । उनले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिहरुको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गरे । उनले प्रतिगामी शक्तिहरुले पुनः चलखेल गर्नसक्ने भएकाले फेरि आन्दोलन गर्नुपर्ने आवश्यकता हुनसक्ने बताए ।
उनले पार्टीमा आवद्ध विभिन्न जातीय तथा क्षेत्रीय संगठनहरुलाई शक्ति सञ्चय गर्न आग्रह गरे । उनले यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरुलाई संसद, सडक तथा जनताको माँझमा गएर माओवादी केन्द्रले खबरदारी गरिरहेको बताए ।
उनले प्रतिगमनकारी शक्तिलाई परास्त गरी जनताको ठूलो त्यागबाट प्राप्त संघीय गणतन्त्रको रक्षा गर्ने जिम्मा आफूहरुकै भएको बताए । माओवादी केन्द्रले सञ्चालन गरेको गतिविधिबाट जनतामा आशा र भरोषा जगाएको उनको भनाइ छ ।
अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएपछि विभिन्न जनवर्गीय संगठनहरुसँग पार्टीको सम्बन्ध कमजोर हुँदा पार्टी कमजोर बन्न पुगेको बताए । उनले माओवादी पार्टी कमजोर हुँदा संघीय गणतन्त्र धरापमा पर्नसक्ने कुरा पहिल्यै अनुमान गरेको जिकिर गरे ।
उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा संघीय गणतन्त्रलाई बलियो बनाउन भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको दाबी गरे ।
अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने र समाजवादी क्रान्तिको आधार तयार पार्ने बताए । पार्टीलाई बलियो बनाउन आफू रातदिन विभिन्न अभियानमार्फत जनतासँग जुटेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस