२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

आइएमई ग्रुपको लगानीमा मौलाकालिका डाँडामा इला होटल तथा रिसोर्ट सञ्चालन

सोमवार , बैशाख २९, २०८२

गैंडाकोट । गैंडाकोटको मौलाकालिका डाँडामा आइएमई ग्रुपको लगानीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

सोमबार संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री बद्रीप्रसाद पाण्डे, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र गैडाकोटका मेयर मदनभक्त अधिकारीले इला होटल तथा रिसोर्टको संयुक्त रुपमा उद्घाटन गरेसँगै उक्त रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध छन् ।

केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्याउन थप सघाउ पुग्ने विश्वास लिइएको छ ।

आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने अभियान अन्तर्गत उक्त केवलकार सहितको रिसोर्ट सञ्चालनमा ल्याएको हो ।

हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् ।

लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।

अबको एक वर्षभित्र कैलाली को केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रकृयामा छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट