काठमाडौं । आज गणतन्त्र दिवस, एमालेले उत्सव मनाउन र राजावादीहरुले गणतन्त्र खारेज गरी राजसंस्था पुनर्स्थापनाको मागसहित बेग्ला बेग्लै प्रदर्शन गर्दैछन् ।
एमालेको गणतन्त्र उत्सवका लागि विभिन्न ठाउँबाट निकालेको झाँकीसहितको र्याली कार्यक्रमस्थल भृकुटीमण्डप पुगिरहेको छ ।बागबजार, पुतलीसडक, सुन्धारा, टेकु र त्रिपुरेश्वरमा जम्मा भएर उनीहरू परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्यालीसहित भृकुटीमण्डपतर्फ बढेका छन् ।
नेकपा एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म प्रदर्शन गर्नेछन् । राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका छन् । राप्रपा, राप्रपा नेपालसहित राजावादी दल र संस्थाहरुले रत्नपार्क–शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गर्दैछन् ।
काठमाडौंको रत्नपार्कमा आयोजना गरिने जनप्रदर्शनअघि सात ठाउँबाट जुलुस निकालिने भएको छ । सबैतिरबाट आएका शान्तिपूर्ण जुलुस दिउँसो दुई बजे रत्नपार्कमा आएर मिसिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।
एमाले र राप्रपाको प्रदर्शन स्थल र प्रदर्शन समय अलग अलग भए पनि काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित भएको छ ।
त्यसैले सवारी आवागमनको प्रबन्ध मिलाउन तत्कालका लागि ७८३ जना ट्राफिक प्रहरीहरु खटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपक गिरीले बताए ।
प्रतिक्रिया दिनुहोस