२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

डा. शशांक कोइराला र डा. सुनिल शर्माबीचको आत्मीयता: राजनीतिक मतभेदभन्दा माथि उठेको सम्बन्ध

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्र हालैको भिजिट भिसा प्रकरणले राजनीतिक बहसलाई चर्काएको छ। गृहमन्त्री रमेश लेखकको राजीनामाको मागसँगै कांग्रेस नेताहरू डा. शेखर कोइराला, डा. सुनिल शर्मा र राजेन्द्र बजगाईंलाई पार्टीबाट स्पष्टीकरण सोध्ने प्रस्ताव आएको थियो। यो प्रस्ताव पार्टीका पूर्व महामन्त्री तथा बीपी कोइरालाका सुपुत्र डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई बैठकमा राखेका थिए।

तर राजनीतिक मतभेदका बाबजुद पनि कांग्रेसभित्रको आत्मीयता भने अझै बलियो देखिएको छ। हालै सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोले यस कुराको पुष्टि गर्छ। उक्त भिडियोमा लोकप्रिय युवा नेता तथा सांसद डा. सुनिल शर्माले प्रतिनिधिसभा भवनभित्रबाट डा. शशांक कोइरालालाई लिएर आउँछन्, अनि गाडीको ढोका खोलेर डा .कोइरालाको हात ढोग्दै नमन गर्दै आशीर्वाद लिदै सम्मानपूर्वक विदा गर्छन्। यी दृश्यले जनप्रतिनिधिहरूबीचको सहिष्णुता, आदर र आत्मीयता झल्काउँछ।

पत्रकारहरूसँग कुरा गर्दै डा. शर्माले भने, "शशांक दाइ सोझो मान्छे हो। कसैले केही भनेर उक्सायो होला। उहाँले राम्रै कुरा बोल्नुभएको थियो, एउटा शब्द चिप्लिएको हो। बीपीको छोरो हो, आममाफी छ।"

डा. शर्मा नेपाली कांग्रेसका त्यस्ता सांसद हुन्, जसले प्रतिनिधिसभाबाट तलब-भत्ता नलिने घोषणा गरेका छन्। उनले देशभरि स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्, जसबाट हजारौं नागरिक लाभान्वित भएका छन्। उपचार सम्भव नभएका बिरामीहरूलाई काठमाडौँ मेडिकल कलेज वा नोबेल मेडिकल कलेज ल्याएर निःशुल्क उपचार गराउने व्यवस्था पनि उनी स्वयंको पहलमा हुँदै आएको छ।

यसबाहेक, उनले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना गर्न सफल भएका छन्। हालै मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका शर्माले देशका सात स्थानमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराइसकेका छन्। यी सबै कार्यहरूले उनलाई एक "जनप्रिय जनसेवक नेता" को रूपमा स्थापित गरेका छन्।

राजनीतिक मतभेद स्वाभाविक छन्, तर त्यसबीच पनि मानवीयता, आदर र सेवाभाव जोगाउन सकिन्छ भन्ने सकारात्मक सन्देश डा. शर्माको व्यवहारले दिएको छ। डा. शशांक कोइरालासँगको आत्मीय सम्बन्धले नेपाली राजनीतिमा सहिष्णुता र संस्कारको उदाहरण प्रस्तुत गरेको छ, जुन राजनीति शुद्धिकरणको दिशामा एउटा प्रेरणादायी संकेत हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट