२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

नेपालमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो, कोशी प्रदेशबाट २१.८२ प्रतिशत जान्छन् विदेश

शनिवार , जेठ १८, २०८२

विराटनगर । नेपालमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको छ । चालु आवको बैशाख सम्ममा मात्र ६ लाख ७८ हजार ५ सय ११ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा दैनिक सरदर २०३० जना वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख छ । श्रम स्वीकृति नलिई अबैधानिक तरिकाबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि उत्तिकै छ ।

'स्वदेशमा नै राजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं' भन्ने नारा सहित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्वन्धी मिडिया तथा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार आर्थिक बर्ष २०६३/०६४ देखि आर्थिक वर्ष २०८१/०८२ सम्म नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोगारमा जानेको संख्या ८० लाख भन्दा माथि पुगेको छ ।

कुल संख्याको करिब २१.८२ प्रतिशत संख्या कोशी प्रदेशको रहेको उल्लेख छ । आर्थिक वर्ष २०८०/०८१ मा मात्र कोशी प्रदेशबाट १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । जसमा २३ हजार ६२० जना महिला रहेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा मोरङ जिल्लाबाट ३१ हजार १७ जना वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये ४ हजार ५०९ जना अर्थात १४.७० प्रतिशत महिला वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा मात्र २७ हजार ५४० जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

No description available.

विशेष गरी संयुक्त अरब इमिरेट्स, साउदी अरेविया, कतार, मलेशिया, कुवेत, क्रोशिया, रोमानीया, जापान, द. कोरिया र बहराइन गरी १० वटा देश रोजगारीको मुख्य गन्तव्य बनेका छन् । वैदेशिक रोजगारीका लागि १११ देश खुल्ला गरिएको छ । अफ्गानस्तान, लिविया र ईराक देश भने रोक्का गरिएको छ ।

सामी कार्यक्रमका मोरङ संयोजक दिपक राउतले दिएको जानकारी अनुसार वैदेशिक रोजगारीबाट नेपालको विप्रेषणको अवस्था भने बढीरहेको छ । कुल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारीको योगदान २५.३ प्रतिशत रहेको राउतले जानकारी दिए ।

मृत्यु हुनेको संख्या बढ्दो

वैदेशिक रोजगारीले जटिलता पनि थपेको छ । कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०८०/८१ सम्ममा ४४ लाख १४ हजार ५६ जना वैदेशिक रोजगारीमा गएकामा ६ हजार ६२५ जनाको मृत्यु भएको छ ।

१ हजार ९ सय ६६ जना अंगभंग भएका छन् । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मृत्यु हुने र अंगभंग हुनेको संख्या पनि बढीरहेको संयोजक राउतले जानकारी दिए ।

कोशी प्रदेशमा तीन आर्थिक वर्षको अवधिमा ७७४ जनाको वैदेशिक रोजगारीको कारण मृत्यु भएको छ भने २७३ जना वैदेशिक रोजगारीका कारण अंगभंग भएका छन् । मृत्यु हुने र अंगभंग हुनेको संख्या सबै भन्दा बढी झापाको रहेको छ । प्रस्तुत तथ्यांक अनुसार तीन आर्थिक बर्षमा झापाका १६६ जनाको वैदेशिक रोजगारीका कारण मृत्यु भएको छ भने ५४ जनाको वैदेशिक रोजगारीका कारण अंगभंग भएका छन् ।

वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दो

कार्यक्रममा मोरङका कार्यक्रम संयोजक राउतले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आर्थिक बर्ष २०८१/०८२ को साउन देखि बैशाखसम्मको प्रगति प्रतिवेदन सार्वजनिक गरे ।

सार्वजनिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्र वैदेशिक रोजगारीका विभिन्न खाले २६१ वटा मुद्धा सुरक्षित आप्रवासन श्रोत केन्द्रमा आएका छन् । जसमा २०६ वटा मुद्धा ठगीका रहेका छन् । त्यसैगरी संझौता अनुसार काम नभएको ७, स्वास्थ्य समस्या, २, मृत्यु २६, हराएको ४, उद्दार १५ र अन्य २ वटा मुद्दा रहेका छन् ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले चालु आर्थिक वर्षमा २६१ मुद्दा मध्ये ६२ वटा समाधान गरेको छ भने १९९ वटा मद्दा प्रक्रियामा रहेका छन् । सुरक्षित आप्रवासन श्रोतकेन्द्रले समाधान भएका मुद्दामा ५ करोड ५६ लाख ४५ हजार ५२८ रुपैया आर्थिक सहायता प्रदान गरेको राउतद्धारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ देखि आर्थिक वर्ष २०८०/०८१ सम्ममा मोरङ जिल्लामा वैदेशिक रोजगार सम्वन्धि सुरक्षित आप्रवासन श्रोत केन्द्रमा विभिन्न खाले ९९५ वटा मुद्दा आएको राउतले जानकारी दिए । उनका अनुसार ४३४ वटा मुद्दा समाधान भईसकेका छन् भने ३८० वटा मुद्दा प्रक्रियामा रहेका छन् । १८१ वटा मुद्दा भने रद्द भएका छन् ।

No description available.

समाधान भएका ४३४ वटा मुद्दामा १६ करोड ०७ लाख ५३ हजार ९३८ रुपैया वैदेशिक रोजगार पिडितले क्षतिपूर्ति पाएको संयोजक राउतले जानकारी दिए ।

सुरक्षित आप्रवासन श्रोत केन्द्रमा परेका मुद्दा मध्ये १५१ वटा विभिन्न खाले मुद्दा विराटनगर महानगरपालिकाको मात्र रहेको छ । जसमा ६५ वटा मुद्दा समाधान भएका छन् भने ८६ वटा मुद्दा प्रक्रियामा रहेको प्रतिवेदनमा जनाइएको छ । समाधान भएका मुद्दामा १ करोड ७५ लाख ०२ हजार ६६४ रुपैया पिडितले आर्थिक सहायता पाएका छन् ।

मोरङमा सामी कार्यक्रमको अवस्था

मोरङ विराटनगर महानगरपालिका, कानेपोखरी गाउँपालिका, उर्लाबारी नगरपालिका र रंगेली नगरपालिकामा सुरक्षित आप्रावासन कार्यक्रम सञ्चालनमा रहेको छ । आगामी आर्थिक वर्षदेखि जहदा गाउँपालिका, बेलवारी नगरपालिका, ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिका, सुनवर्षि नगरपालिका, रतुवामाई नगरपालिका, लेटाङ नगरपालिका र सुन्दरहरैचा नगरपालिका थप भएको राउतले जानकारी दिए ।

सामी कार्यक्रमले सूचना, न्याय, सीप, वित्तिय साक्षरता र मनोसामाजिक परामर्शको क्षेत्रमा काम गर्दै आएको छ ।

मोरङ जिल्लामा चालु आर्थिक वर्षमा ११ हजार ३८९ जनाले आप्रवासी श्रोत केन्द्रबाट सेवा लिएका छन् । जसमा पुरुष ७ हजार ६७५ जना र महिला ३ हजार ७१४ जना रहेका छन् । यो तथ्यांक मोरङ जिल्लाबाट पासपोर्ट बनाउनेको पनि हो ।

सामी कार्यक्रमले जिल्ला प्रशासनमा आप्रवासी श्रोत केन्द्र स्थापना गरेर काम गर्ने गरेको छ । मोरङमा जिल्ला प्रशासन कार्यालय विराटनगर, इलाका प्रशासन कार्यालय उर्लाबारी र इलाका प्रशासन कार्यालय रंगेलीमा आप्रवासन श्रोत केन्द्र स्थापना गरेर काम भईरहेको कार्यक्रम संयोजक राउतले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ देखि आर्थिक वर्ष २०८१/०८२ सम्म ५२ हजार १४७ जनाले आप्रवासन श्रोत केन्द्रबाट सेवा लिईसकेका छन् । सामी कार्यक्रम अन्तर्गत मोरङमा चालु आर्थिक वर्षमा १४० जनालाई मनोसामाजिक परामर्श सेवा दिने लक्ष्य भएपनि १४० जनालाई मात्र प्रदान गरिएको राउतले जानकारी दिए । उनका अनुसार मनोसामाजिक परामर्श दिएका मध्ये ३७ जनाको समस्या समाधान भएको छ भने १०३ जनाको प्रक्रियामा रहेको छ ।

तीन आर्थिक वर्षको अवधिमा भने ४१० जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएकोमा ३७३ जनाको समाधान भईसकेको छ भने ३७ जनाको रद्द भएको छ ।

No description available.

सामीले कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्केकाहरुको समूह ‘रटिर्नी स्वयसेवक परिचालन समूह’ बनाएर काम गरिरहेको छ । वित्तिय साक्षरता कार्यक्रमलाई प्राथमिकतामा राखेर पनि काम गरिरहेको छ । वैदेशिक रोजगारीबाट आएको रकम जथाभावी खर्च नहोस् भन्ने उदेश्यले वित्तिय साक्षरता कार्यक्रमलाई प्राथमिकता दिएको संयोजक राउतले जानकारी दिए ।

विराटनगर महानगरपालिका, सुरक्षित आप्रवासन (सामी) कार्यक्रम, हेल्भेटास नेपाल र सगरमाथा सामुदायिक विकास केन्द्रद्धारा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा मिडियाले वैदेशिक रोजगारको क्षेत्रमा बढी कलम चलाउनुपर्नेमा जोड दिईएको थियो ।

सामुदायिक विकास केन्द्रका अध्यक्ष केशर कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरुले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउनको लागि सर्बसाधारणलाई बढी भन्दा बढी जनचेतनामूलक सूचना प्रवाह गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट